काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो । अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । उनी यही विषयमा २०८० चैत ५ गते पनि पक्राउ परेका थिए । यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप)मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।
भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए। भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ।
चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।














