काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको घटनालाई नेपालको इतिहासमा एक भयावह र कालो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले जेनजी विद्रोहको दोस्रो दिन प्रदर्शनमा घुसपैठ भएको र त्यसले हिंसात्मक रूप लिएको बताए ।

जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका देउवाले लिखित सम्बोधनमा भने, ‘भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहका भवन, वडा कार्यालयलगायत जनताको दैनिक सेवासँग जोडिएका प्रशासनिक, भौतिक र ऐतिहासिक संरचनाहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो । राजनीतिक दलका कार्यालय, नेताहरूको निजी निवास, सञ्चार गृह, व्यापारिक र व्यवसायिक प्रतिष्ठानहरूमा समेत ठूलो क्षति पुग्यो । यो घटनाले अकल्पनीय जनधनको क्षति भएको छ, जुन नेपालको इतिहासमा एक डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ ।’
उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १२५ जना नेताहरूको निजी घरमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी भएको बताए । विशेषगरी, विराटनगरको कोइराला निवास, काठमाडौंको चाक्सीवारीस्थित गणेशमान सिंह निवास र ललितपुरको बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाएर खरानी बनाइएको घटनाले आफूलाई मर्माहत बनाएको उनले उल्लेख गरे ।
देउवाले भने, ‘नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीमाथि आक्रमण, हातहतियार लुटपाट र नागरिकको निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको छ । यस्ता घटनाले मुलुकको शान्ति र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।’ उनलेघटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे ।
साथै, उनले सो कठिन परिस्थितिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति हार्दिक आभार व्यक्त गरे । ‘राष्ट्रपतिज्यूको परिपक्व र संयमित भूमिकाले मुलुकमा थप संकट उत्पन्न हुनबाट जोगियो,’ देउवाले भने । यो घटनाले नेपाली कांग्रेसलगायत मुलुकको लोकतान्त्रिक आन्दोलन र शान्तिपूर्ण सहअस्तित्वको मूल्यलाई गम्भीर चुनौती दिएको उनको भनाइ छ ।














