मुस्ताङ । नेपाल–चीन सीमानाका कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म दुई अर्ब २४ करोड तीन लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत भदौ ३१ देखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व उठाइएको हो ।
२०७९ कात्तिक २७ देखि स्थानीय बासिन्दालाई मात्र लक्ष्य गरी खुला गरिएको यो नाका हाल व्यापारिक कारोबारका लागि पूर्ण रूपमा सञ्चालनमा आएपछि भन्सार गतिविधि तीव्र भएको हो । विभागले प्राविधिक समस्या समाधान गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहलपहल बढेको मुस्ताङ भन्सारका प्रमुख रमेश खड्काले जानकारी दिए ।
भन्सार सञ्चालनको पहिलो साता आन्तरिक तयारीमा खर्चिएपछि दसैँअघि नै कोरलानाकाबाट दुई अर्ब दुई करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो । दसैँ बिदाका कारण केही समय सेवा बन्द भए पनि हाल भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ ।
अहिलेसम्म चीनबाट ३८७ वटा मालवाहक सवारीसाधन र १,१९४ वटा विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ। नेपालतर्फबाट भने हस्तकला र स्थानीय उत्पादन लिएर पाँच वटा मालवाहक चीनतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ। दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको जाँचपास भएको छ।
तर, ४,६१० मिटर उचाइमा अवस्थित कोरलानाकाबाट हिउँदयाममा निरन्तर व्यापारिक गतिविधि सञ्चालन गर्न कठिन हुने देखिएको प्रमुख खड्काले बताए। अत्यधिक चिसो, हिउँ, पानीको स्रोत जम्ने र पूर्वाधार अभावका कारण मङ्सिरदेखि फागुनसम्म भन्सार सञ्चालनमा चुनौती आउने उनको भनाइ छ।














