काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मङ्गलवारको केन्द्रीय कार्यसमिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेको र अन्तिम सम्बोधनजस्तै अभिव्यक्ति दिएको बताएका छन् । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित पार्टी कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाका अनुसार, सभापति देउवाले कार्यवाहक सभापति तोकेर बाँकी जिम्मेवारी केन्द्रीय समितिलाई सुम्पिएका छन् । ‘सभापति देउवाले आज कार्यवाहक सभापति नियुक्त गरी केन्द्रीय समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । हामीले उहाँको उपस्थितिको सम्मान गर्दै आज थप कामकारबाही अघि नबढाउने निर्णय गर्यौँ,’ थापाले भने ।
देउवाले पार्टी एकताको आह्वान गर्दै १५औँ महाधिवेशन विधानअनुसार मङ्सिर मसान्तभित्रै गर्नुपर्ने बताएको थापाले उल्लेख गरे । ‘सभापतिले एकताको आह्वान गर्नुभएको छ र १५औँ महाधिवेशन समयमै गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको यो सम्बोधन सभापतिको रूपमा अन्तिमजस्तै थियो, त्यसैले हामीले आज अन्य कामकारबाही रोकेर उहाँको कदमको सम्मान गर्यौँ,’थापाले भने ।
थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधवार अपराह्न ३ बजे विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर बुझ्ने जानकारी दिए । कांग्रेसमा ५४।५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्ने तयारी भइरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हस्ताक्षर संकलन गरी यो माग अघि बढाइएको हो ।














