काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताएकी छिन्।

प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने आशामा दुई वर्षदेखि प्रतीक्षारत विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको जनाउँदै गहिरो श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ,’ प्रधानमन्त्री कार्कीले विज्ञप्तिमार्फत भनेकी छिन्, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
उनले विपिनलाई केवल विद्यार्थीको रूपमा नभई ज्ञान र कर्मप्रति समर्पित हजारौं नेपाली युवाको प्रतीकका रूपमा चित्रण गरेकी छन्।
‘ विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो उहाँ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्यालो प्रतिनिधि हुनुहुन्थ्यो,’ कार्कीले उल्लेख गरेकी छिन्, उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो।’
प्रधानमन्त्रीले सदा शान्तिप्रेमी नेपालको छोराले अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नु दुःखद रहेको जनाइन्।
‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनालाई छिन्नभिन्न पारेको छ,’ उनले भनिन्, उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ।’















