Logo
Logo

१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु


315
Shares

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ। प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

The current image has no alternative text. The file name is: flower.jpg

उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार नीतिगत रूपमा सहजीकरण गर्ने तयारीमा रहेको बताए।

‘पुष्प व्यवसायमा निजी क्षेत्रको योगदान सराहनीय छ,’ सचिव शर्माले भने, विश्वमा भइरहेको नयाँ अभ्यास र प्रवृत्तिलाई स्वीकार गरेर गुणस्तरीय स्वनियमनमा ध्यान दिनुपर्छ।’

उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीअनुसार आलंकारिक बिरुवाहरूको दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अवैधानिक रूपमा भित्रिने फूललाई नियन्त्रण गरेर स्वदेशी व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायी स्वयं पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।

‘कृषि विधेयक संसद् नहुँदा अल्झिएको छ,’ उनले भने, ‘तर कृषि नीति तयार भइसकेको छ र मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ। पुष्प व्यवसायको जोखिम मूल्याङ्कन गरेर बीमा प्रणाली लागू गर्ने नीतिगत व्यवस्था गर्न प्रयास जारी छ।’

सचिव शर्माले प्लास्टिकका फूलहरूको प्रयोग नियन्त्रण गर्न र देश बाहिरबाट आयात हुने कृषिजन्य तथा पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षण कडाइका साथ लागू गरिने पनि बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसाय प्रवर्द्धनका लागि बीउबिजन विकास र प्रदर्शनी सुविधाको सुधार आवश्यक रहेको उल्लेख गरे। उनले हालैको जेनजी आन्दोलनमा घुसपैठ र असामाजिक गतिविधिका कारण व्यावसायिक वातावरण प्रभावित भएको बताउँदै त्यसलाई निरुत्साहित गर्न सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धनसँगै रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने धारणा राखे।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार प्रदर्शनीमा ९० वटा स्टल रहेका छन्। पाँच दिनसम्म चल्ने प्रदर्शनीमा करिब ४० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्