Logo
Logo

कांग्रेसले भन्यो-सरकारले प्रतिशोधपूर्ण व्यवहार बन्द गरोस्


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग गरेको छलफलमा कांग्रेसले शान्ति सुरक्षाको अवस्था नाजुक रहेको र दलहरू विश्वस्त नभएको बताएको छ ।

The current image has no alternative text. The file name is: chalphal.jpg

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको बताए । उनले भने, ‘निर्वाचनको पहिलो सर्त शान्ति सुरक्षाको प्रत्याभूति हो, जुन अहिलेसम्म भएको छैन । सुरक्षाकर्मी त्रसित छन्, उनीहरूको मनोबल बढाउनुपर्छ । लुटिएका हतियार र बर्दी फिर्ता गर्नुपर्छ, भागेका अपराधी पक्रनुपर्छ ।’ 

विश्वकर्माले सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र दलहरूबीच सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले निर्वाचन अनुकूल अभिव्यक्ति दिनुपर्नेमा विपरीत बोलेको भन्दै अभिव्यक्तिमा संयमता अपनाउन आग्रह गरे । साथै, सरकारबाट दलहरूमाथि भइरहेको प्रतिशोधपूर्ण व्यवहार बन्द गरी सहकार्यको वातावरण बनाउनुपर्ने उनको धारणा थियो । कांग्रेसले निर्वाचनको वातावरण निर्माणमा सबै पक्षको सहभागिता र जिम्मेवारी सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्