काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आवश्यक प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको जानकारी केन्द्रीय समितिलाई दिएका छन् ।

खड्काले विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूको मुख्य उद्देश्य मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन सुनिश्चित गर्नु रहेको बताए । उनले केन्द्रीय समिति बैठकको सुरुमा भने, ‘विशेष महाधिवेशन माग्ने साथीहरूको मुख्य जोड समयमै नियमित महाधिवेशन हो भन्ने मलाई विश्वास छ। हामी यो बैठकको अन्त्यसम्ममा नियमित महाधिवेशन समयमै गर्ने सहमतिमा पुग्नेछौँ ।’
उनले नियमित महाधिवेशनको वातावरण बनेमा विशेष महाधिवेशनको आवश्यकता नरहने र सोही दिशामा अघि बढ्ने प्रष्ट पारे । यसैगरी, नेता डा.शेखर कोइरालाले पनि मङ्सिरमै नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अन्य राजनीतिक दलहरू मङ्सिरमा अधिवेशनको तयारीमा जुटिसकेका छन्, हामीले किन नसक्ने ?’ कांग्रेसलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउन मङ्सिरमा १५औँ महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ ।
कोइरालाले महामन्त्रीले मङ्सिरमै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनेमा आफू विश्वस्त रहेको बताए । साथै, विशेष महाधिवेशनका लागि उत्साहजनक रूपमा हस्ताक्षर संकलन भएको र यसले कांग्रेसमा नयाँ ऊर्जा थपेको उनले उल्लेख गरे । नेता कोइरालाले देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि उठाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।














