Logo
Logo
टिप्पणी

जेनजी आन्दोलन व्यक्तिगत महत्वकांक्षाको शिकार बन्ने खतरा


युवराज संग्रौला

1.4k
Shares

काठमाडौं । पाँच/सात वर्ष अगाडिसम्म युवाहरू ‘राजनीतिलाई फोहोरी खेल भन्थे ।’ अनि युवा राजनीति दलका पेशेवर संगठनको हातमा थियो । उनीहरूसँग आतंकित हुनुपथ्र्यो । कहिलेकाहीँ एउटै ढोकामा ६ वटा ताला लगाउँथे उनीहरू । त्यसका विरुद्ध कोही बिल्दैनथे ।

२०८२ सालमा अचानक भ्रष्टाचारका विरुद्ध जेन–जीहरूको आन्दोलन भयो । तर देशको विदेश नीतिको अस्वस्थ अवस्था, कृषि उत्पादनको कन्तबिजोग, उद्योगको विस्तार र आधुनिकीकरण, शिक्षाको पतनमुखी गुणस्तर, विद्यार्थीको पलायन, संस्कृतिमाथिको अतिक्रमण र जीवनका प्रत्येक पक्षमा नवउपनिवेशवादको विरुद्धमा कतै कुनै आवाज र सरोकार भने यस आन्दोलनले मुखरित गर्न सकेन ।

यो आन्दोलनलाई हाइज्याक गर्ने तत्व हाबी देखियो । आन्दोलन केवल सत्ता परिवर्तनतर्फ केन्द्रित भयो । आन्दोलनमा सरिक हुने व्यक्तिहरूमा केवल ‘नेतृत्वप्रति विद्रोह देखियो ।’ त्यो विद्रोहसँग ‘कस्तो समाज बनाउने भन्ने कुनै योजना देखिएन । आन्दोलनमा आउन उहाँहरूले अनुरोध सबैलाई गर्नु भएन र कुनै रणनीतिक विचार पनि थिएन ।’ सायद त्यसकै परिणाम आन्दोलनमा ठूलो घुसपैठ भयो र अब त विदेशी पत्रिकाले पनि लेखे ‘विध्वंस स्वतःस्फूर्त थिएन ।’

१. विद्रोहका नामका सबै विध्वंसका बाबजुद मलाई युवाहरू राजनीतिको मैदानमा आएको कुराले खुसी पारिरहेको थियो । लाग्यो, ‘देशका लागि भविष्यको नेतृत्व बन्दैछ, र देश भोलि उन्नत विचारशील व्यक्तिको नेतृत्वमा अगाडि जानेछ ।’ तर खोइ ? देश त अलमलिएको छ । जेन–जीका समूहको ‘मन्त्री खोजको दौडमात्र’ देखिन्छ ।

२. मनोविज्ञान के देखिन्छ भने ‘देश काठमाडौँमात्र हो ।’ अझ, देश बनाउन चाहिने भनेको ‘विद्रोही उदन्डता मात्र हो ।’ देश बनाउन सोच र योजना चाहिन्छ । केही जटिलता छन्, जस्तै–

(१) संसारका शक्ति राष्ट्र बनिसकेका दुईटा छिमेकीका बीचको सम्बन्धलाई कसरी सन्तुलन गर्ने,
(२) आयातमा आधारित उत्पादनहिन अर्थतन्त्रको उद्धार कसरी गर्ने,
(३) कुसंस्कारमा उभिएको राजनीतिक प्रणालीको प्रतिस्थापन कसरी गर्ने,
(४) संस्कृति, सभ्यता र मौलिक सद्भावविरुद्ध तयार पारिएको उत्पादनप्रति विमुख र रोजगारविहीन शिक्षा कसरी परिवर्तन गर्नेलगायतका अनेक प्रश्न छन् ।

तर वर्तमान जेन–जी आन्दोलन यसतर्फ कतै संवादमा छैन र सरोकार पनि देखिन्न । सबैलाई मात्र ‘प्रत्यक्ष निर्वाचन चाहिएको छ ।’ अर्थात् कहीँकतै ‘एक थान प्रत्यक्ष प्रधानमन्त्री स्थापित गर्ने योजना बनिबनाउ छ ।’

अर्कातिर हे¥यो, जेन–जीको कतै संगठन छैन, र ‘जताततै बिदेशीले स्थापना गरेको संगठनका सदस्य’ को जमात छ । अहिलेसम्ममा एउटा कुरा त स्पष्ट छ, त्यो हो, ‘नेपालमा नियन्त्रित अस्थिरता’ निर्माण गर्ने शक्तिहरूको प्रतिस्पर्धा चलिरहेको छ ।

३. प्रश्न देशको स्वाधीनताको छ । तर सतहमा लडाइँ ‘राजा ल्याउने कि नल्याउने र राजनीति दलहरूमा नेतृत्व परीवर्तन हुने कि नहुने’ भन्ने कुरामा छ । यो लडाइँमा राजसंस्थाका ‘राजा पुनस्र्थापित गर्ने कि नगर्ने र दलका ‘राजा’हरू यथावत रहने कि नरहने’ छलफलमात्र छ ।

दलका ‘राजा’हरू नमरुन्जेल गद्दी नछोड्ने पक्षमा छन् । राजसंस्थाका राजा पुनस्र्थापित गर्ने कि नगर्ने सम्बन्धमा योजना आन्दोलनको मात्र छ, छलफल र राष्ट्रिय एकता निर्माणको योजना छैन । तर, दलका ‘राजा’हरू विस्थापित भएर अरू आए पनि र राजसंस्था पुनस्र्थापित भए पनि नेपालले अहिले भोगिरहेको ‘भूराजनीति’ को खतरनाक ताप आफैँ सम्बोधन हुनेछैन । अतः मूल प्रश्न त देशको स्वाधीनताको हो । त्यो स्वाधीनताको कुरा कहीँकतै पत्रकार दिवाकर साहले उठाइरहेको प्रश्नले बोलिरहेको छ ।

यो जटिल अवस्थामा असंगठित जेन–जी आन्दोलन आपसमा टुटफुट र आफ्नो दम्भका खेलमा विदेशीकै गोटी भएर सकिने खतरा देखिँदैछ । उनीहरूको आन्दोलनमा उनीहरूले बौद्धिक र अन्य तप्काका जनतालाई जोड्ने चाहना राखेको देखिँदैन । यो आन्दोलनभित्र बाहिर जे देखिए पनि कुनै शक्ति कसैलाई स्थापित गर्न चाहन्छ भन्ने देखिन्छ । र, ‘त्यो जेन–जी भने पक्कै होइन ।

जेन–जीलाई प्रधानमन्त्री र मन्त्री बनाउँदैमा समस्या समाधान हुने पनि होइन, देशले अहिले खोजिरहेको कुरा त–

(१) देशभक्त, प्रगतिशील र समाजिक उदारवादीहरू बीचको एकता हो ।
(२) सार्वजनिक क्षेत्रको व्यवस्थापनमा उत्पादन र व्यापारमा नागरिकहरुको लागानी वा निजी अर्थतन्त्र र वस्तु बजारको विस्तार र संरक्षण हो ।
(३) कृषि उत्पादनको उत्थान र कृषको संरक्षण हो ।
(४) शिक्षाको नवउपनिवेशिकरणको अन्त्य र यसको उत्पादनशील गुणस्तरको विकास हो ।
(५) देशलाई राजनीति कुसंस्कार र भ्रष्टाचारबाट मुक्त गर्नु हो । यी रणनीतिक उद्देश्य पूरा गरेर देशको स्वाधीनताको संरक्षण नै जेन–जीको भूमिका हो भनेर कसले बुझाउने वा त्यो बुझाउने आँट कसले गर्छ ? यो प्रश्न उनुत्तरित रह्यो भने देशले अझ अर्को विद्रोह जन्माउने छ, जसले देश पराधिन हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्