काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल सुरु गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल केहीबेर अघिदेखि चलिरहेको छ ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले कूटनीतिक निकायका प्रमुख र विदेशी राजदूतहरूको बैठक बोलाएकी हुन् । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुख र राजदूतहरू सहभागी छन् । बैठकमा नेपालको समसामयिक परिस्थिति, आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल र परामर्श हुने बताइएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले यस्तो बैठक पहिलोपटक आयोजना गरेकी हुन् । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । यसअघि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको थियो ।
तर, सरकारले निर्वाचनको वातावरण निर्माणका लागि पर्याप्त परामर्श गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले संसद विघटन गरी निर्वाचन घोषणा गरेकी थिइन् ।














