Logo
Logo

जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाटमा गर्ने  १३२ जना पक्राउ, कसरी भइरहेको छ अनुसन्धान ?


1k
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूलाई प्रहरीले तीव्र गतिमा पक्राउ गरी कारबाही अघि बढाएको छ । उपत्यकाका तीन जिल्ला(काठमाडौं, ललितपुर, भक्तपुर) बाट अहिलेसम्म १३२ जना पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: sing.gif

यिनीहरूविरुद्ध कर्तव्य ज्यान, हातहतियार खरखजना, लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारजस्ता गम्भीर कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार काठमाडौंबाट मात्र ९८ जना पक्राउ परेका छन् । 

अनुसन्धान पूरा गरी अदालत पेश भएकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्या आरोपमा र २ जना आपराधिक उपद्रवमा दोषी ठहरिएका छन् । परिसरको हिरासतमा अझै २२ जना छन् भने केहीलाई हाजिरी जमानीमा छाडिएको छ । 

आन्दोलनकै क्रममा कारागारबाट फरार १३६ कैदीलाई पनि पक्राउ गरेर बुझाइएको छ । ललितपुर प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।  हतियारसहित पक्राउ परेका खोटाङका २३ वर्षीय शिवकुमार विक र लुटपाटमा संलग्न एक भारतीय गरी दुई जना कारागार चलान भएका छन् । विकबाट चाइनिज पेस्तोल, म्यागजिन र राष्ट्रिय वाणिज्य बैङ्कको ट्यागसहित ४ लाख ७८ हजार रुपैयाँ बरामद भएको थियो । 

भक्तपुर प्रहरीले १० जनालाई पक्राउ गरे पनि सबैलाई हाजिरी जमानीमा छाडिएको छ र अदालतमा मुद्दा दर्ता भएको छैन । आन्दोलनमा तीन प्रहरीको हत्या भएको थियो-असई मिलन राय, जवान उत्तम थापा र हवल्दार अमृत गुरुङ । हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका होमप्रसाद पौडेल, उदयपुरका टिकाराम विक, काभ्रेका युवराज क्याप्छाकी र मकवानपुरका सोनाम तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पक्राउ परेकाहरूमध्ये धेरैको आपराधिक पृष्ठभूमि छ । सिंहदरबारमा एसएलआर ताक्ने राजु परियारमाथि ज्यान मार्ने उद्योगसहित ८ मुद्दा छन् । हितेन्द्रदेव शाक्यको घरमा डाँका गर्ने भारतीय सरोज आलम कारागार चलान भएका छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको घर लुट्ने सुजन सेवा र सञ्जय परियार धरौटी नबुझाएर जेल चलान भए । बैंक लुटेर बुलेट किन्ने दोलखाका दीपक श्रेष्ठले २ लाख ५० हजार लुटेको स्वीकारेका छन् । प्रहरी कार्यालयमा आगजनी गर्ने दुई भारतीय र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लगाउने सोनाम थेबे पनि पक्राउ परेका छन् ।

शंकास्पद टीओबी समूहका तेन्जिन दावा तामाङको नागरिकता र जन्म दर्ता नक्कली देखिएपछि अनुसन्धान भइरहेको छ । प्रहरीलाई बर्दी खोल्न लगाएर लखेट्ने गौतम घिसिङ चेक बाउन्सका फरार अभियुक्त हुन् । 

आन्दोलनपछि धम्की दिने शाही वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको खुलेको छ । प्रहरीले यस्ता आपराधिक पृष्ठभूमिका व्यक्तिहरू आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ  । 

प्रतिक्रिया दिनुहोस्