काठमाडौं । गत शनिवार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भएकी गायिका नितु पौडेलको निधन भएको छ । आज (शुक्रबार) बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार नितुका बुवाले गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गराएका छन् । घटनामा संलग्नताको शङ्कामा प्रहरीले गिरीलाई यसअघि पनि सोधपुछका लागि बोलाएको थियो ।
शनिबारको घटनामा गिरी पनि सामान्य घाइते भएका थिए । बर्न अस्पतालबाट डिस्चार्ज भएलगत्तै थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको छ ।आत्मदाह प्रयासअघि नितुले फेसबुकमा गरेको अन्तिम पोस्ट अहिले व्यापक चर्चामा छ । उनले लेखेकी थिइन्, ‘हाँसी रहने यो मुहारभित्रको उदासिपन हरेकले कहाँ बुझ्न सक्छन् र,’ जसलाई घटनासँग जोडेर हेरिएको छ ।














