काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले कुनै पनि राजनीतिक दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको प्रष्ट पारेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूसँग एकताको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले यस्तो जनाएको हो ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको निर्णय र आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूसँग नेपाली समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न वैचारिक र साङ्गठनिक विषयमा गहन छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपाली जनताको नेतृत्वमा विगतमा भएका क्रान्ति र सङ्घर्षहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको माओवादी केन्द्रको ठहर छ । यही विषयलाई ध्यानमा राखी विभिन्न पक्षसँग एकताका लागि सघन छलफल भइरहेको भए पनि कुनै निर्णय नभएको र सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका प्रचारमा सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ ।














