Logo
Logo

माओवादीका उत्तराधिकारी जेनजी हुन्: प्रचण्ड


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी ‘भ्रष्टाचार नगर्ने पार्टी’ भएको दाबी गरेका छन् । माओवादीकै उत्तराधिकारीका रूपमा जेनजीले भ्रष्टाचारविरुद्ध आवाज उठाएको पनि प्रचण्डको दाबी छ ।  आइतबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो दाबी गरेका हुन् ।

उनले भने, ‘जेनजी हाम्रा उत्तराधिकारी हुन्। हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ । यही मुद्दा जेनजी आन्दोलनले उठायो।’ जेनजी आन्दोलनले उठाएका मुद्दा माओवादीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएको प्रचण्डको भनाइ छ । उनले भने, ‘अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।’ जेनजीहरूले अहिले माओवादीलाई आफ्नो अभिभावक मानिरहेको पनि दाहालले दाबी गरे। ‘जेनजी युवाहरूसँग छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ,’ उनले भने।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा भएको दाहालले पुनः दाबी पनि गरे । ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकार हो । त्यसमा हामीले पनि समर्थन जनाएका थियौँ,’ दाहालले भने । तर आफ्नो मत सांसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद् विघटन गर्ने रहेको उनले उल्लेख गरे । दाहालले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्