Logo
Logo

प्रतिनिधिसभा विघटन असंवैधानिक: पूर्णबहादुर खड्का


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिएको बताएका छन् ।

नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा बोल्दै खड्काले जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।

उनले भने, ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो । यही पृष्ठभूमिमा हामी आज तरुण दलको स्थापना दिवस मनाउँदैछौं ।’

खड्काले जेनजी आन्दोलनका कारण मुलुक अस्थिर बनेको उल्लेख गर्दै आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि स्मरण गरे ।

कार्यक्रममा उनले तरुण दलका कार्यकर्तालाई जुझारू, अनुशासित र जिम्मेवार भएर देश तथा नागरिकको सुरक्षाका लागि एकताबद्ध हुन आग्रह गरे ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राणघातक आक्रमण भएको स्मरण गर्दै खड्काले भने, ‘देशभर नेताका घरहरू जलाइए, खरानी बनाइए । यस्तै संवेदनशील क्षणमा हामी तरुण दलको स्थापना दिवस मनाइरहेका छौं । म सबै तरुणहरूलाई अनुरोध गर्न चाहन्छु– जुझारूपनका साथ, तर अनुशासन र संयमतासहित सिंगो देश र नागरिकको सुरक्षाका लागि एकजुट हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्