मनाङ । सोमबारदेखि परेको हिमपात रोकिएपछि मनाङको मौसम सुधार हुँदै गएको छ । मौसम खुलेसँगै तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ पदयात्रामा आएका पर्यटकहरू सहज बन्दै गन्तव्यतर्फ फर्किन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सडकमा थुप्रिएको हिउँ हटाएपछि आवागमन सहज बन्दै गएको छ । हिमपातका कारण तिलिचो ताल पुग्न नसकेका अधिकांश पर्यटक खाङ्सार र भ्राका क्षेत्रमा बसोबास गर्दै फर्कने तयारीमा छन् ।
पर्यटन व्यवसायीका अनुसार करिब दुई सय पर्यटकलाई स्थानीय होटल र घरमा बस्ने व्यवस्था गरिएको छ । अहिले हिउँ पग्लँदै गएपछि जिप र मोटरसाइकल सञ्चालन सुरु भएको छ ।
जिल्ला प्रशासनका अनुसार मौसम खुल्दै गएसँगै उद्धार र यातायात सहज बन्दै गएको छ भने थोराङ्ला पदयात्रामा रहेका विदेशी पर्यटक सुरक्षित अवस्थामा रहेका छन् ।














