काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिसम्बन्धी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा समिति गठन गरेका हुन् ।
समितिलाई २३ भदौमा भएको आन्दोलनमा प्रहरीबाट भएको बल प्रयोग, मानवजन्य क्षति, सुरक्षा कमजोरी र भोलिपल्टको विध्वंसबारे विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
राठौरको नेतृत्वमा बनेको समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआईजी दीपक रेग्मीसहित कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र विधि विज्ञान प्रयोगशालाका प्रतिनिधिहरू समावेश छन् । समितिले आन्दोलनको कारण, प्रदर्शनका दिनको बल प्रयोग र भोलिपल्टको विध्वंसको विस्तृत अनुसन्धान गरी एक महिनाभित्र प्रतिवेदन तयार पार्ने कार्य पाएको छ।
सरकारले यसअघि नै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेर जेनजी आन्दोलन र भोलिपल्टको विध्वंसबारे छानबिन गरिरहेको छ । प्रहरीले भने घटनाको डेढ महिनापछि आन्तरिक छानबिन समिति गठन गरेको हो।
प्रहरी प्रधान कार्यालयका अधिकारीका अनुसार देशभर क्षतिको प्रारम्भिक विवरण संकलन गर्न समय लागेकाले समिति गठनमा ढिलाइ भएको हो।
जेनजी आन्दोलन र भोलिपल्टको विध्वंसमा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने २ हजार ४०० भन्दा बढी घाइते भएका थिए। त्यसै क्रममा १ हजार २०औ भन्दा बढी हतियार लुटिएको र करिब १ लाख राउन्ड गोली प्रहरी अभिलेखबाट गायब भएको थियो ।














