Logo
Logo

भारतका केन्द्रीय मन्त्री पासवानको निधन


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २३ असोज (एजेन्सी) । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका भएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटुसम्बन्धी शल्यक्रिया समेत गरिएको थियो ।
भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६.५० बजेको फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा उनको निधन भएको हो । दलित समुदायका अति प्रभावशाली नेता मानिएका ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए । उनले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आएका थिए ।
उनले सन् २००० मा स्थापना गरेको पार्टी अहिले उनकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गर्दै आएका छन् । आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बाबा तपाई अब हामीबीच रहनुभएन, भौतिक रुपमा नभएपनि तपाई हामीसँगै हुनु हुनेछ ।’ उनको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्