Logo
Logo

अजरबैजान-अर्मेनियाबीच युद्धविराम : संयुक्त राष्ट्रसंघद्वारा स्वागत


- दृष्टि न्युज/संवाददाता


न्युयोर्क, २५ असोज (एजेन्सी) । अजरबैजान र अर्मेनियाबीच भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार विज्ञप्तिमार्फत स्वागत गरेका हुन् ।
शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेशमन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए । यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्न महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए ।
रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो । यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेका थिए ।
युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ ।
यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि उनले स्वागत गरेका छन् । उनले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताइएको छ । यी दुई देशबीच दशकौँदेखि भूमीसम्बन्धी विवाद रही आएको छ । पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरु भएको थियो ।
हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समय आपसमा हमला भइरहेको छ । यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ । विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर, त्यो क्षेत्र लामो समयदेखि अर्मेनियाको जातीय समुहको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्