
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ८० वटै मेसिनबाट चिप्स निकाल्ने काम सकिएसँगै मत गन्न सुरु गरिएको हो ।
करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।
बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि मतदान गरेका छन् । मतदानका क्रममा ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे । आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी पतिस्पर्धामा छन् ।











