
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ गर्न पेसी तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशी
बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्न न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासका पेसी परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
पटक–पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन । यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो । त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ । लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गतेयता निरन्तर सातौं पटकको हो ।
कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई–दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ । यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।











