
काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा एकमात्र महिला निर्वाचित भएकी छन् । अध्यक्ष केपी ओलीको प्यानलबाट उम्मेदवार बनेकी पद्मा अर्याल सचिवमा निर्वाचित भएकी हुन् ।
उनी १ हजार ५३० मत प्राप्त गरि दोस्रोपटक एमालेको सचिव बनिन् । एमालेमा यसअघि दुई महिला पदाधिकारी थिए । सचिवमा पद्मा बाहेक उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य थिइन्। शाक्यले यसपालिदेखि राजनीतिबाट अवकास लिएको बताएकी छन् ।
यसपाली एमालेको ११ औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि ४ जना महिलाको उम्मेदवारी दिएका थिए । महिलाबाट सचिवमा अर्याल बाहेक रचना खड्का र पेम्बा लामाले पनि उम्मेदवारी दिएका थिए । खड्काले ८७७ र लामाले ४९४ मत ल्याएका छन् ।
उपाध्यक्षका लागि विन्दा पाण्डेले उम्मेदवारी दिएकी थिइन् । उनी पनि निर्वाचनमा पराजित भएकी छन् । पाँच जना उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ९२१ मत ल्याएर उनी पछि परेकी थिइन् ।











