Logo
Logo

एमालेको सक्रिय राजनीतिबाट बिदा भए काशिनाथ


756
Shares

काठमाडौं । नेकपा एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।
३३ वर्ष केन्द्रीय कमिटीमा काम गर्दा पनि आफू नेता नभएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यो ११औं महाधिवेशनदेखि सक्रिय राजनीतिबाट बिदा भएको बताएका हुन् ।

काशिनाथ अधिकारी एमालेको पाँचौं महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा थिए । उनले भनेका छन्, ‘पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरे । जति दिन काम गरेँ पूरा मनले गरेँ । इमान, निष्ठा र समर्पणकासाथ गरेँ । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थ रूपमा गरेँ ।’

आफू ल्यांगल्यांगे कार्यशैलीको विरोधी रहेको बताउँदै जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रहेको उनले बताएका छन् ।
‘नेकपा(एमाले) मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइनँ । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ । मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन । सपना असल कम्युनिस्ट बन्ने थियो तर सबै मानकहरू पूरा गर्न सकिनँ,’ उनले भनेका छन्।

उनले अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने बताएका छन्। त्यस्तै साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भव काम गर्ने उद्घोष गरेका छन्। ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर खुसीले ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु । लामो राजनीतिक जीवनमा म बाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु,’ उनले भनेका छन्।

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा लामो समयदेखि ओली निकट रहेका काशीनाथ अधिकारीले यसपालि कुनै पदमा उम्मेदवारी दिएनन् । पार्टीको अनुशासन आयोग प्रमुखमा उम्मेदवार प्रस्ताव गरिएका उनले विद्रोह गरेर उम्मेदवारी दर्ता नगरेको चर्चा थियो। तर खासमा निर्धारित समयभन्दा ढिला गरी मनोयनपत्र दर्ता गर्न गएकाले उम्मेदवारी दिनबाट छुटेको उनले बताएका छन् ।

उनले सुरूमा उम्मेदवारी दिन मानेका थिएनन् । पछि सबैले कर गरेर मनाएपछि मनोनयनपत्र दर्ता गर्न गएका थिए । तर त्यति बेलासम्म मनोयनपत्र दर्ता गर्ने समय घर्किसकेकाले उम्मेदवारी दर्ता नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्