Logo
Logo

मन्त्रिमण्डल पुनर्गठनको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज । मन्त्रिपरिषद् पुनर्गठन आजभोलि भन्दाभन्दै महिनौं बितिसक्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठन हुनसकेको छैन । अहिले मन्त्रिमण्डलमा पूर्वएमालेको ९ जना, पूर्व माओवादीका ७ जना र ‘सूर्य चिह्न’ बाट लडेका एक जना मन्त्री छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पूरै पुनर्गठन गरेर पूर्वमाओवादीको संख्या ७ बाट ९ पु¥याउने अडान राख्दै आएका छन् । तर, प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पूरै पुनर्गठन गर्ने पक्षमा छैनन् ।

बालुवाटार स्रोतका अुनसार दुवै अध्यक्षले भनेको कुरामा सहमति नजुट्ने हो भने अहिले रिक्त रहेको तीनवटा मन्त्रालय सूचना सञ्चार तथा प्रविधि, शहरी विकास र अर्थ मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरौं भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीले प्रचण्डसँग राखेका छन् । तर, प्रचण्ड तीनमध्ये एउटा मन्त्रालय पूर्व माओवादीलाई दिनुपर्ने अडानमा छन् । त्यसो गर्दा जनार्दश शर्मा वा टोपबहादुर रायमाझीलाई मन्त्री बनाउन प्रचण्डमाथि पूर्वमाओवादीको दबाब छ । तर, प्रधानमन्त्री ओली भने तीनवटै मन्त्रालय पूर्वएमालेको भागमा परेकोले रिक्त तीन मन्त्रालयमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठलाई लैजाने अडानमा छन् । तर, सुरेन्द्र पाण्डेले भने अर्थ मन्त्रालयबाहेकको अन्य जिम्मेवारी आफूले नलिने कुरा प्रधानमन्त्रीलाई बताइसकेका छन् । प्रधानमन्त्रीले अर्थमन्त्री पौडेललाई बनाउने सोच बनाएका छन् ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मन्त्रालय भागबण्डामा कुरा नमिलेसम्म मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छैन । ओलीले भनेझैँ पुनर्गठन हुँदा ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, लेखराज भट्ट, योगेश भट्टराई, बिना मगर, वसन्त नेम्वाङ, पार्वत गुरुङ र शिवमाया तुम्वाहाम्फे कायम रहने बालुवाटार स्रोतले बताएको छ । अन्य मन्त्रीहरुमा भानुभक्त ढकाल स्वास्थ्य, गिरिराजमणि पोखरेल शिक्षा, रामेश्वर राय यादव श्रम र जगत विश्वकर्मा खेलकुद बाहिरिने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्