काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको खुलामञ्च तत्काल खुला गर्न सरकार र महानगरपालिकासँग माग गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्तीमा एक लाख मानिस अट्ने खुला चौर नहुनु नेपालकै लागि लज्जास्पद र अपमानजनक विषय भएको बताए ।
उनले भने, ‘नेपाल सरकार र महानगरपालिकालाई खुलामञ्च खुला गर्न आग्रह गर्छु । यो राष्ट्रकै लागि अपमानको विषय हो । ५०–६० हजारदेखि एक लाख मानिस जम्मा हुने मञ्च नहुनु लज्जाको कुरा हो ।’
प्रचण्डले राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि खुला सभा–समारोह गर्ने स्थल अनिवार्य रहेको भन्दै यो स्थितिको अन्त्य गर्न जोडदार अपिल गरे । उनले आजको सभा टुँडिखेलमा आयोजना गर्ने प्रयास गरिएको तर सफल नभएको पनि उल्लेख गरे ।











