
काठमाडौं । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले अघिल्लो चुनावको भन्दा धेरै ‘निर्वाचन प्रहरी’ भर्ती गर्न गृह मन्त्रालयमा प्रस्ताव लगेको छ ।
प्रहरीले निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको हो । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । ०७९ मा एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागिएको हो ।
यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने प्रहरीको निष्कर्ष छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले मतदान केन्द्र थपिने भएकाले सुरक्षा चुनौती विश्लेषण गरेर निर्वाचन प्रहरीको संख्या निर्धारण गरिएको जानकारी दिए ।











