
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनकाे छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ६ बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका– ९ जगदरी घर भएका उनी सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।
पाँचौ तलामाथिबाट तल भुइँमा खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











