Logo
Logo

कार्यालयमा हप्तामा एक दिन परम्परागत पोशाक लगाउने व्यवस्था गरौँ : प्रधानमन्त्री


630
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधिमण्डलसँगको भेटमा उनले संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भएपनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने छाड्न नहुने बताएकी हुन् ।

परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित थिए । उक्त वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयहरुमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा राखिन् ।

उनले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीहरुसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरुमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ । परिषद्का महासचिव राजु गुरुङले निम्तोपत्र वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्