
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशबाट ३२३ जना आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ ।
कोशी प्रदेश समितिले २८ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशबाट खोटाङबाहेक सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ ३२३ जना आकाङ्क्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नामावलीलाई एकीकृत गरी केन्द्रमा पठाएको कांग्रेस कोशी प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी प्रदेशको खोटाङ निर्वाचन क्षेत्रबाहेक २७ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११५ जना सिफारिसमा परेका छन् । यस्तै खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट समानुपातिकतर्फ २०८ जनाको नाम सिफारिस गरिएको छ ।
झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएको छ । शर्माको क्षेत्रबाट समानुपातिकतर्फ भने ६ जनाको नाम पठाइएको छ ।
झापाका अन्य क्षेत्रहरूको हकमा क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १०, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा ८ र समानुपातिकमा १०, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा ५ तथा क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ७ र समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ ।
त्यसैगरी मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवारहरूको बाक्लो सूची तयार पारिएको मुख्य सचिव कोइरालाले जानकारी दिए ।
मोरङ क्षेत्र नं. १ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ६, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा १०, क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ४ र समानुपातिकमा ७ र क्षेत्र नं. ६ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ७ जनाको नाम सिफारिस गरिएको छ ।
सुनसरी जिल्लाका चारवटा क्षेत्रहरूबाट पनि उल्लेख्य संख्यामा आकांक्षीहरू देखिएका छन् । जसमा सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा १५, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १५, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा २ र समानुपातिकमा २० र क्षेत्र नं. ४ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ९ जनाको नाम सिफारिस भएको छ ।












