काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सिंहदरबारमा इलाम क्षेत्र नं. २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो सरकार चुनाव गराउनकै लागि गठन भएको बताउँदै कुनै दुबिधा नराखी तयारी अघि बढाउन आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी शान्ति स्थापना र कानुनको शासन बहालीमा सफल भएका छौँ । अबको मुख्य लक्ष्य निर्वाचन हो । चुनाव सम्पन्न भएपछि मात्र मुलुकमा स्थायित्व सुनिश्चित हुन्छ ।’ भेटमा नेम्वाङले चुनाव सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिए । प्रधानमन्त्रीले नेम्वाङको चुनावी तयारीबारे जिज्ञासा राख्दा उनले तयारी भइरहेको बताए ।
कार्कीले युवाहरूलाई अघि सार्नुपर्ने धारणा राख्दै भनिन्, ‘युवामा साहस र ऊर्जा हुन्छ । पुरानो पुस्ताको अनुभव उपयोगी हुन्छ तर देशको बागडोर युवाले नै सम्हाल्नुपर्छ ।’
नेम्वाङले इलाममा बाढीपहिरोले क्षति पुगेका राजमार्ग र पुलहरूको पुनर्निर्माणमा तीव्रता दिन ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले हालै स्थलगत निरीक्षण गरेको र सरकार यसमा गम्भीर रहेको जानकारी दिइन् ।












