Logo
Logo

निर्वाचन सूचनाका लागि मिडिया सेन्टर सञ्चालन


378
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी प्रवाह गर्न मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

The current image has no alternative text. The file name is: media-center.jpg

निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा प्रवाह गर्ने तथा सञ्चारमाध्यमसँग समन्वय बढाउने उद्देश्यले आयोगले शुक्रबारदेखि आफ्नै कार्यालय परिसरमा मिडिया सेन्टर स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनसम्बन्धी सूचनालाई एकीकृत र व्यवस्थित ढंगले उपलब्ध गराउन मिडिया सेन्टर स्थापना गरिएको जानकारी दिइयो । कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई तथ्यपरक समाचार उपलब्ध गराइने बताए ।

सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने उद्देश्यले ‘सूचना सदाचार प्रवर्द्धन केन्द्र’ समेत स्थापना गरिएको उनले जानकारी दिए ।

“अहिले सूचनाका स्रोतहरू धेरै छन् र सामाजिक सञ्जालमार्फत तथ्यविहीन सूचना सहजै फैलिन्छन्,” उनले भने, “त्यस्ता सूचनाको सत्यतथ्य पहिचान गर्न, सरोकारवाला निकायसँग समन्वय गर्न र सही सूचना प्रवाह सुनिश्चित गर्न यो केन्द्र स्थापना गरिएको हो ।”

उनका अनुसार सूचना सदाचार प्रवर्द्धन केन्द्र विशेष गरी सामाजिक सञ्जाल केन्द्रित रहनेछ भने मिडिया सेन्टरले सञ्चारमाध्यममार्फत आधिकारिक सूचना बाहिर लैजाने, पत्रकार सम्मेलन गर्ने तथा सत्य समाचार उपलब्ध गराउने कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्