काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा आएको बाढीले बगाएको रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाकाको मितेरी पुल पुनर्निर्माण सम्पन्न भएको छ। चिनियाँ पक्षले पुल निर्माण पूरा भएको जानकारी नेपाल सरकारलाई गराइसकेको छ।

चिनियाँ पक्षले बिहीबार नेपाल सरकारलाई पत्राचार गर्दै पुलको उद्घाटनको समय मिलाउन आग्रह गरेको छ। स्याफ्रुबेँसी–रसुवागढी खण्डका विभिन्न स्थानमा सडक तथा मितेरी पुल बगाएपछि सो नाकाबाट आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। नेपाल–चीनबीच हुने करिब ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाकाबाट हुने गरेकामा पुल बगाएपछि व्यापार अवरुद्ध बनेको थियो।
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भइसकेको विषयमा नेपाललाई जानकारी आएको बताएका छन्। ‘पुल तयार भइसकेको जानकारी आएको छ,’ महावाणिज्यदूत निरौलाले भने। गत असारमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्याएको थियो।
रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षण भ्रमणका क्रममा काठमाडौंस्थित चिनियाँ राजदूतसहित रसुवागढी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मितेरी पुल पुनर्निर्माणमा सहयोग गर्न चिनियाँ पक्षलाई अनुरोध गरेका थिए। सरकारको उक्त आग्रह स्वीकार गर्दै चिनियाँ पक्षले पुल पुनर्निर्माण सम्पन्न गरेको हो।
गत असार २३ गतेदेखि सुरु भएको बाढी २४ गते तीव्र बन्दै जाँदा पुल बगाउनुका साथै भन्सार यार्डमा राखिएका सबै सामानसमेत बगाएको थियो। चिनियाँ पक्षले कात्तिकको अन्तिम साताभित्र पुल निर्माण सम्पन्न गर्ने अनुमान गरे पनि करिब एक महिना ढिला भएको हो।
त्यस समयमा तिब्बतस्थित ल्हेन्देखोलाबाट आएको बाढी भोटेकोशीमा मिसिँदा ठूलो विनाश भएको थियो। सो बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै ३० जनाभन्दा बढीको ज्यान गएको थियो।
नेपालतर्फ भन्सार यार्डमा सामान लोड गरिएका ९ वटा कन्टेनर डिब्बासहितका २५ भन्दा बढी गाडी बगाएको थियो। साथै करिब ३५ वटा विद्युतीय गाडी (ईभी) र ६ वटा सिनोट्रकसमेत बाढीले बगाएको थियो।












