
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सम्झौता भएको छ । आज (आइतबार) बिहान रवि । बालेनले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै विभिन्न सात बुँदे सहमति गरेका हुन् ।
सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ ।
आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ उनीहरुले त्यसमा आफूहरुको प्रतिवद्धता देखाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिएको छ ।
सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भएपनि रवि लामिछानेको नाममात्रै छ ।
उनले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाएका छैनन् । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजिनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।
सम्झौताको पहिलो बुँदामा नवयुवा(जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।
रवि र बालेनले आफूहरुलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ ।
सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमती भएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
पटकपटक एकताको छलफल र संवाद भएपनि, सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका वारेमा केही उल्लेख छैन । तर बृहत एकताका क्रममा उनीहरुलाई पनि समेट्ने संकेत छ ।
सम्झौतापत्रमा भनिएको छ, ‘पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’
यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरुले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन् ।
घोषणा अनुसार, अब बालेन पक्षका समानूपातिक उम्मेद्वारहरु पनि स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् । र, सम्भवतः दुई दिनभित्रै उनीहरुले आपसी सहमती गरेर निर्वाचन आयोगमा समानूपातिक उम्मेद्वारहरुको सूची बुझाउनेछन् । प्रत्यक्षतर्फको मनोनयन भने अझै तीन साता बाँकी छ ।
उनीहरुले आफूहरुको अभियानलाई बैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन भनेका छन् ।
सम्झौतापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।’
सम्झौतापत्रमा पार्टीका अरु पदाधिकारीहरुको भूमिका, दुई पक्षविच सम्झौता गर्दा उम्मेद्वारहरुको चयन एवं व्यवस्थापनको विषय उल्लेख छैन । यसअघि पनि रवि लामिछाने र बालेन शाहविच पटकपटक एकैसाथ निर्वाचनमा जानेवारे छलफल भएपछि टुंगोमा पुगेको थिएन ।
कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तिब्रता पाएको हो । यसक्रममा दुवै पक्षले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, आईतबार विहानैको सम्झौतामा उनी जोडिएका छैनन् ।













