Logo
Logo

षड्यन्त्रको अर्को तयारी हुँदैछ, पुराना शक्तिबीच एकता आवश्यक : शंकर पोखरेल


2k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने षडयन्त्रको दोस्रो चरणको तयारी भइरहेको आशंका गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच ७ बुँदे सम्झौता भएकै दिन कसैको नाम नलिई महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’

गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको टिप्पणी उनको छ ।

भदौ २३ को आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ ।’

नयाँ शक्तिहरू एकीकृत हुँदै गर्दा एमाले महासचिव पोखरेलले पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्