
धेरैलाई लाग्यो, सन् २०२६ मा राष्ट्रपति ट्रम्पले शान्तिको बाटो लिने रहेछन् । कम्तीमा यो वर्ष पृथ्वीका सारा मानिसले चयनको श्वास फेर्न पाउने रहेछन् । तर, त्यसको ५० घण्टा पनि नबित्दै शुक्रबार राति २ः५८ बजे उनै ‘शान्तिका राष्ट्रपति’ ट्रम्पले घोषणा गरे, ‘हाम्रो हतियार तयार छ र हामी हान्न तयार छौँ ।’
यो भनेको दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको राजधानी कारकासमाथि हान्ने ‘अपरेशन एब्सोल्युट रिजोल्भ’ को घोषणा थियो । निशानामा थिए, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो । सके जिउँदै पक्राउ गर्ने, नसके सिद्ध्याइ दिने । त्यसपछिको लक्ष्य थियो, भेनेजुएलामा आफ्नो कठपुतली सरकार गठन गर्ने र त्यहाँको तेल भण्डार कब्जा गर्ने ।
राष्ट्रपति ट्रम्पले यसअघि नै धेरैपटक आक्रमणको चेतावनी दिइसकेका थिए । यतिसम्म कि, मदुरोलाई आत्मसमर्पण गर्न पनि भनिसकिएको थियो । भेनेजुएलाले पनि यसलाई सुनेको थियो होला । तर, त्यसको प्रतिरक्षाका लागि जति सचेत हुनुपर्ने थियो, त्यति हुन सकेन वा त्यो उसको काबुभन्दा बाहिरको कुरा भैसकेको थियो ।
शुक्रबार राती मौसम सफा भएन । त्यसको अर्को रात शनिबार सबै तयारी भएपछि ट्रम्पले आक्रमणको आदेश दिए । यतिबेला रातको १०ः४६ बजेको थियो । सहरको सारा बत्ती पड्काइदिएर काराकास अन्धकार बनाइयो । सहरका सैनिक छाउनीहरूमा बम बर्साइयो । राष्ट्रपति निवासको छतबाट हेलिकोप्टरबाट अमेरिकी विशेष बल ‘डेल्टा फोर्स’ का कमाण्डोहरू झरे । श्रीमती फ्लोरेससँगै सुतिरहेका मदुरोले जतिबेला चाल पाए, ढिलो भैसकेको थियो । उनलाई कमाण्डोहरूले श्रीमतीसँगै पक्राउ गरे । यो सबै गर्न ३० मिनेट पनि लागेन । त्यसपछि के के भयो ?, जगजाहेर नै छ ।
यतिबेला मदुरो श्रीमतीसहित न्युयोर्कको ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । उनीमाथि न्युयोर्ककै म्यानहटनस्थित संघीय अदालतमा लागुऔषध तस्करीको मुद्दा छ । मदुरो राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमै ६ वर्षअघि दायर गरिएको यो मुद्दाका मुख्य प्रतिवादी हुन् ।
मुद्दाको सुनवाइ सोमबार अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ । एक दशकभन्दा लामो समयदेखि हाइप्रोफाइल मुद्दा हेर्दैआएका हेलरस्टिन राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा नियुक्त एक अनुभवी न्यायाधीश मानिन्छन् ।
कागजमा यो एक नियमित अदालती हाजिरी जस्तो देखिए पनि यसको भूराजनीतिक र कानुनी महत्त्व ठूलो छ । एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह मौन बस्ने, भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्नेजस्ता कानुनी अधिकार पाउँछन् । मादुरो र उनकी श्रीमतीले यो मुद्दालाई कसरी लिन्छन् र के कस्ता अधिकार उपयोग गर्छन् ? अहिलेसम्म स्पष्ट छैन । तर, के चाहिँ स्पष्ट छ भने यो मुद्दा त्यति सजिलै र छिट्टै किनारा लाग्ने छाँट देखिँदैन ।
झट्ट हेर्दा यो एक अमेरिकी अदालतमा मुद्दा चलिरहेका अभियुक्तलाई पक्राउ गरेर अदालतमा प्रस्तुत गर्ने सामान्य प्रक्रिया जस्तो देखिन्छ । यदि यो अमेरिकी सीमाभित्रै कुनै अमेरिकी नागरिकमाथि गरिएको भए त्यस्तै सामान्य प्रक्रिया हुन्थ्यो । तर, यो त्यस्तो हैन, यो त अर्कै सार्वभौम राष्ट्रमाथि आक्रमण गरेर त्यस देशका राष्ट्रप्रमुखलाई अपहरणको शैलीमा बन्धक बनाएर ल्याएको असामान्य अवस्था हो ।
यो असामान्य अवस्थाले अमेरिकाको मात्र हैन, सारा विश्वकै शान्तिमाथि धावा बोलेको छ । यसले राष्ट्रपति ट्रम्पले नचाहेका जो कोहीविरूद्ध पनि ‘अपरेशन एब्सोल्युट रिजोल्भ’ चलाउन सकिन्छ भन्ने सन्देश दिएको छ । ट्रम्पको यो कदमबाट विश्वमा एक किसिमको सन्त्रास पैदा गरिदिएको छ कि अन्य विश्वमा कोही पनि सुरक्षित छैन ।
राष्ट्रपति ट्रम्पले अमेरिकी हितका लागि भनेर चालेको यो कदम अमेरिकामै सर्वसम्मत हुन सकेको छैन । यो कदमको थोरै समर्थन र धेरै विरोध भएको पाइन्छ । प्रतिपक्षी डेमोक्रेटिक पार्टीले संसदको अनुमति नलिई गरेको यो असंवैधानिक कदम हो भन्दै ठाडै विरोध गरेको छ । उनीहरूको तर्क छ, यो एक किसिमको युद्धको सुरुवात हो । यसबाट क्षेत्रीय अशान्ति बढ्नुको साथै अमेरिका र अमेरिकीमाथि नै सुरक्षा चुनौती बढ्छ । यसले विश्वमा थप ध्रुवीकरण हुँदा अमेरिका एक्लिन्छ । र, यो क्रम बढ्दै जाँदा विश्वयुद्ध पनि हुन सक्छ ।
डेमोक्रेटिक पार्टीले त विरोध गर्ने नै भयो, स्वयं ट्रम्पको रिपब्लिक पार्टीमा पनि यो कदमप्रति एक मत छैन । समर्थन गर्नेहरूले यसलाहई अमेरिकाको जीत हो भनेर उत्सव मनाइरहेका छन् । उनीहरूको तर्क छ, मदुरोलाई हत्कडी लगाएर अमेरिका ल्याउनु अमेरिकी शान हो । यसबाट भेनेजुएलामा अमेरिकी सम्प्रभुता कायम हुन्छ । तर, विरोध गर्नेहरू अमेरिकालाई वाह्ययुद्धबाट निकाल्ने चुनावी वाचा बिर्सेर ट्रम्पले आउँदो चुनावमा पार्टीलाई हारतिर डो¥याएको ठान्छन् ।
ट्रम्पको यो कदमले अमेरिकालाई मात्र हैन, सारा विश्वलाई नै ध्रुवीकरणमा लगेको छ । सरसर्ति हेर्दा, यो कदमलाई हेर्ने दृष्टिकोणबाट अहिले संसार चार कित्तामा विभाजित छ । पहिलो कित्ताकाले यसलाई अमेरिकी दादागिरि भनेर कडा भत्र्सना गरेका छन् । यसरी भत्र्सना गर्नेहरूमा स्थायी रूपमै अमेरिकाको विरोध र भेनेजुएलाको समर्थन गर्ने रुस, चीन, उत्तर कोरिया, क्युबा, लगायतका वामपन्थी देशहरू छन् ।
दोस्रो कितामा रहेकाहरू अमेरिकाकै समर्थक रहे पनि यसमा मौनता साँधिरहेका छन् । त्यस्ता देशहरूको कोटीमा केही समाजवादी पृष्ठभूमिका युरोपेली मुलुकहरू छन् । उनीहरूलाई यो तरिका मन परेको छैन । तेस्रो कित्तामा रहेकाहरू अमेरिकालाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्नेहरू छन् । उनीहरूले होसियारीपूर्वक यो ट्रम्प–कदमको आलोचना गरेका छन् । यस्तो देशमा भारत र केही खाडी राष्ट्रहरू छन् । चौथो कित्तामा ट्रम्पका कट्टर सार्थक जी–७ समूहका राष्ट्रहरू छन् ।
यो ट्रम्प–कदमलाई लिएर संयुक्त राष्ट्र संघको भूमिका खासै प्रभावकारी देखिएको छैन । भेनेजुएला राष्ट्रसंघको एक सदस्य राष्ट्र हो । तर, आफ्नै सदस्य राष्ट्रमाथि ठाडो आक्रमण गरेर अपमानजनक ढंगले त्यो देशको राष्ट्रप्रमुखलाई अपहरण गरेर बन्धक बनाउँदा पनि राष्ट्रसंघले घटनाको ठाडो विरोधसम्म गर्न सकेको छैन । राष्ट्रसंघका तर्फबाट महासचिव एन्टोनियो गुटेरेसले घटनालाई नजिकबाट गम्भीरतापूर्वक हेरिरहेको भन्दै शान्तिपूर्ण समाधानको आव्हान गरेका छन् ।
यो एक किसिमको लाचारीपन वा बढीमा कर्मकाण्डी धारणाभन्दा बढी केही हैन । प्रश्न राष्ट्रसंघको मात्र हैन, मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संघ–संसथाहरू पनि खासै खुलेका छैनन् । हुन त खासगरी वामपन्थी पृष्ठभूमीका देशमाथि हुने आक्रमणमा उनीहरूको यस्तै पक्षधरता रहने गरेको छ । यो घटनालाई लिएर उनीहरूले साँधेको मौनता पहिलो हैन ।
नेपालमा पनि यो घटनाको तरङ्ग आइपुगेको छ । खासगरी नेपाली कांग्रेस, रास्वपा, राप्रपाजस्ता दक्षिणपन्थी दलहरूले यो कदमप्रति मौनता साँधेका छन् । उनीहरूको मौनताको अर्थ यो कदमको मौन समर्थन हो । नेपालको दक्षिणपन्थी दलहरूका लागि संसारभरका जो कोही पनि वामपन्थी दल र देशहरू विरोधी कित्तामै हुन्छन् भने प्रजातन्त्रवादी वा दक्षिणपन्थी दलहरू मित्रशक्ति हुन्छन् ।
यस कोणबाट हेर्दा राजनीतिक रूपमा अमेरिका उनीहरूको मित्रदेश र भेनेजुएला शत्रुदेश हो । आफ्नो मित्रदेशले चालेको भए पनि यो कदम नेपाल जस्तो सानो सार्वभौमदेशका लागि शुभसंकेत हैन, त्यसैले ठाडै समर्थन गर्ने स्थिति बनेन । भेनेजुएला र मदुरोको त यसै पनि राजनीतिक रूपमा मित्रशक्ति नभएकाले उनीहरूको समर्थन गर्ने कुरा भएन ।
तर, नेपालका वामपन्थी दलहरूको अवस्था भने ठीक भिन्न छ । उनीहरूका लागि अमेरिकी साम्राज्यवादी राष्ट्र हो भने भेनेजुएला समाजवादी । त्यसैले देशका लगभग सबै वामपन्थी दल र तिनका नेताहरूले यो कदमको भत्र्सना गर्दै मदुरो दम्पतिको विनाशर्त रिहाइको माग गरेका छन् ।
यस मामिलामा साना वामदलहरूको भाषा उग्र भेटिन्छ भोलि सत्तामा पुग्ने सम्भावना भएका दलहरूले भने अमेरिकालाई चिढाउने खालका भाषा प्रयोग गरेका छैनन् । यही विचमा नेपालमा अमेरिकाविरोधी केही प्रदर्शनहरू पनि भएका छन् ।
यो कदमपछि भेनेजुएलाको जनमत पनि ठाडो चिरामा विभाजित भएको छ । मदुरो समर्थक सत्तारूढ दलका कार्यकर्ता र समर्थकहरूमा अमेरिकाप्रति तीव्र रोष र घृणा देखिन्छ । उनीहरूले अमेरिकाको यो कदमबाट आफ्नो सार्वभौमसत्तामाथि आक्रमण भएको बताउँदै यसको निम्ता दिने विपक्षी दलका नेता तथा कार्यकर्तालाई राष्ट्रद्रोहीको संज्ञा दिएका छन् । देशमा अझै पनि मदुरोको दलकै सत्ता छ, सेना उनीहरूकै पक्षमा छ । उपराष्ट्रपति रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको रूपमा शासनसत्ता सम्हालिरहेकी छन् । उनले अमेरिकी कदमको कडा शब्दमा भत्र्सना गर्दै मदुरो दम्पतिलाई फिर्ता गर्न माग गरेकी छन् ।
यसैबिच विपक्षी नेता एडमुन्डो गोन्जालेसले सेनालाई आफूलाई सत्ता सुम्पन्न आग्रह गरेका छन् । सन् २०२४ जुलाईमा भएको चुनाव आफूले जितेको भन्दै उनले मदुरोको पतन भइसकेकोले वैधानिक रूपमै आफू भेनेजुएलाको राष्ट्रपति भएको दाबी गरेका छन् । उनले पछिल्ला घटनाक्रमलाई देशको इतिहासको नयाँ मोड भन्दै अब सेनाले लोकतान्त्रिक बाटो रोज्नुपर्ने समेत बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने भेनेजुइलाको शासन ‘मनरो डक्ट्रिन’अनुसार आफूले चलाउने घोषणा गरेका छन् । उनले उपराष्ट्रपति रोड्रिगेजलाई आफूले नै कार्यवाहक राष्ट्रपति बनाएको र उनले आफ्नो निर्देशन मान्नुपर्ने बताएका छन् । अझ, अगाडि बढेर उनले सोझै भनेका छन्, रोड्रिगेजले मेरो निर्देशन पालना गरिनन् भने उनको हालत मदुरोको जस्तै हुने छ । तर, रोड्रिगेजले आफूले भेनेजुएलाको संविधान र जनता बाहेक अरू कसैलाई नचिन्ने र नसुन्ने बताएकी छन् ।
राष्ट्रपति ट्रम्प भेनेजुएलामा कठपुतली सरकार स्थापना गरेर शासन गर्न चाहन्छन् । यसो गर्नुको सोझो स्वार्थ त्यहाँको अपार तेल भण्डारमा अमेरिकी कम्पनीहरूको वर्चस्व कायम गर्ने नै हो । यसका लागि तगारो बन्दै आएका मदुरोलाई राष्ट्रपति ट्रम्प जसरी पनि हटाउन चाहन्थे । त्यही मिसन पूरा गर्न मदुरोमाथि लागूपदार्थ तस्करीको आरोप लगाइएको भन्नेहरूको कमी छैन । तथ्यहरूले पनि अमेरिकामा लागूपदार्थ तस्करीमा मदुरो र भेनेजुएलाको खासै संलग्नता देखाएको छैन ।
भेनेजुएलामा अमेरिकी आक्रमणपछि मध्य तथा दक्षिण अमेरिकामा एक किसिमको सन्त्रास बढेको छ । भेनेजुएला अब कसरी सम्हालिएला ? कतै भेनेजुएला आन्तरिक गृहयुद्धमा त फस्दैन ? त्यसो भयो भने अमेरिकाको भूमिका के हुन्छ ? छिमेकी मुलुकहरूमा त्यसको कस्तो प्रभाव पर्छ र त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
अमेरिकी राष्ट्रपति ट्रम्प यतिमै रोकिएलान् कि त्यस क्षेत्रका क्युबा, कोलम्बियाजस्ता अन्य वामपन्थी देशहरूमाथि पनि जाई लाग्लान् ? यसरी एकपछि अर्को देशमा जाइलाग्ने स्थित बन्यो भने अमेरिकामा त्यसको प्रभाव कस्तो पर्छ ? करोडौँको सङ्ख्यामा मध्य तथा दक्षिण अमेरिकी मूलका मानिसले अमेरिका र आफ्नो मूलदेशबीचको लडाइँलाई कसरी लेलान् ? यसबाट अमेरिका र अमेरिकी जनताको बढ्दो सुरक्षा चुनौतीलाई कसरी सम्बोधन गर्न सकिएला ? कतै यो लडाइँ बढ्दै जाँदा तेस्रो विश्वयुद्ध त हे हैन ?
यतिबेला यी र यस्तै प्रश्नहरूको तुवाँलोले सारा विश्वकै क्षितिज ढाकेको छ । त्यो क्षितजको केन्द्रमा छन्, अमेरिकी राष्ट्रपति ट्रम्प । उनले सन् २०२५ देखि नै ‘शक्तिले शान्ति स्थापना’ गर्ने कुरा गर्दै आएका छन् । विश्वका सारा युद्ध अन्त्य गर्ने वाचा गरेर राष्ट्रपतिको दोस्रो कार्यकाल जितेका ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो वर्ष नै चौतर्फी आक्रमण गरिरहेका छन् । इरान, यमन, नाइजेरिया, क्यारेवियन ट्वीप हुँदै भेनेजुएला आइपुगेका उनी यतिमै रोकिन्छन् कि अरू अगाडि बढ्छन् ? अहिलेको यक्षप्रश्न भनेकै यही हो ।
राष्ट्रपति ट्रम्पले क्यानडा, पानामा, ग्रिनल्यान्ड र गाजामा आँखा गाडेको प्रचार आफैँले गरे । अहिले भेनेजुएलामा आक्रमणपछि त मनरो सिद्धान्तअनुसार आफै नै शासन गर्ने भने । ट्रम्प त्यतिमा मात्र रोकिएका छैनन्, ‘मेक्सिकोलाई केही न केही गर्नैपर्ने छ’ भनेका छन् भने कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोलाई पनि ‘आफ्नो पछाडि हेर्न’ भनेर धम्क्याइसकेका छन् ।
जे होस्, पश्चिमी गोलाद्र्ध र त्यसभन्दा बाहिरका केही नेता बाहेक बाँकीले सन् २०२६ भरि नै सहजै निदाउन सक्ने अवस्था छैन। अमेरिकी अतुलनीय सैन्य शक्तिको प्रयोगमा ट्रम्प अभ्यस्त हुँदै गएका छन्। यसो गर्दा उनले अन्तर्राष्ट्रिय मात्र हैन, अमेरिकाको राष्ट्रिय कानुनको पनि खासै प्रवाह गरेका छैनन् । पैसामै अर्जुन दृष्टि लगाएका राष्ट्रपति ट्रम्प अमेरिकी हित भनेकै पैसा हो भन्ने भाष्य बनाउन कृतसंकल्पित छन् ।
चुरो कुरो त उनलाई सन् २०२४ को आमनिर्वाचनमा मतदान गरेका बहुमत अमेरिकी मतादाताको म्यान्डेट प्राप्त छ । उनले ‘अमेरिका पहिलो’ भन्दै जे गर्छु भनेर मत मागेका थिए, त्यही नै गरिरहेका छन् । विरोधीहरूलाई त्यस्तो नलाग्न पनि सक्छ, तर त्यसको सुनुवाइ अहिले हुँदैन, सन् २०२८ को नोभेम्बर ७ सम्म पर्खनै पर्छ ।












