
काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण सुरु गर्दा भर्खरै सम्पन्न एमालेको महाधिवेशनबाट निर्वाचितहरू मरेतुल्य भएका छन् ।
नेतृत्व परिवर्तनको पक्षमा उभिँदा गगन–विश्वलाई कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले साथ दिएका छन् । यसबाट कांग्रेस नेतृत्व परिवर्तनको पक्षमा छ भन्ने स्पष्ट सन्देश गएको छ । त्यसो त एमालेमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू पनि नेतृत्व परिवर्तनको पक्षमा थिए । तर, ओलीले विधानमै झेल गरेपछि परिवर्तन पक्षधर एमाले नेता तथा कार्यकर्ता निराश बनेका छन् ।
विशेष महाधिवेशनमा गगनले कांग्रेस ‘दास’ र ‘लास’को पार्टी नभएको बताएका थिए । कांग्रेस ‘दास’ र ‘लास’को पार्टी नभएकाले बोल्ने, आलोचना गर्ने र नेतृत्व परिवर्तन गर्ने क्षमता राख्ने उनले बताएका थिए । त्यति मात्रै होइन, आम निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने उद्घोष पनि गगनले गरेपछि एमाले महासचिव शंकर पोखरेल मर्माहत भएका छन् । गगनले दास र लासको कुरा उठाउँदा ‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तानेजस्तो’ एमाले महासचिव पोखरेल प्रतिरक्षामा उत्रिएका छन् । जबकि, गगनले एमालेको नाम लिएका थिएनन् ।
व्यक्तिले आफूलाई स्वाधीन, सक्षम र निर्णयकर्ताको रूपमा नहेरी अरूको आदेश, मान्यता वा स्वीकृतिमा निर्भर रहने सोच र प्रवृत्ति दास मानसिकता हो । समाज कता जाँदै छ भन्ने नबुझी नेतृत्वको चाकरीमाा मात्रै लाग्नु लास प्रवृत्ति हो । कांग्रेसको विशेष महाधिवेशनले यसको पुष्टि गरेको छ ।
कांग्रेसमा सांगठनिक सुधार भए अन्य पार्टीमा पनि सुधारका लागि दबाब पर्छ । त्यसले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुँदै जान्छ । यो समयको माग पनि हो । एमाले महासचिव शंकर पोखरेलले नेतृत्व हस्तान्तरण समयको माग भएको विषय स्विकार्न सकेनन् । उनको यो दास मानसिकता हो । उनी जस्तै सोच भएका कारण फागुन २१ गतेको निर्वाचनमा दाङबाट पोखरेलले मात्र होइन, मै हुँ भन्ने एमालेका उम्मेदवारहरूले धुलो चाट्ने भएका छन् ।
आम निर्वाचनमा पराजित हुँदै आएका एमाले महासचिव पोखरेलले आगामी निर्वाचनमा कांग्रेसको साथमा जित्ने आशमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आगामी निर्वाचनमा गठबन्धन गर्ने सहमति भइसकेका थियो । त्यसको अभ्यासको रूपमा राष्ट्रिय सभामा गठबन्धन भइसकेको थियो । तर, कांग्रेस एक्लै चुनाव लड्ने कुराले आगामी निर्वाचन एमालेको लागि फलामको च्यूरा बनेको छ ।
एमाले महासचिव पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा उभिएर गगनप्रति आक्रोशसमेत पोखेका छन् । देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने भन्दै पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
‘यसरी पनि सोच्न सकिन्छ- भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्,’ महासचिव पोखरेलले सोमबार आफ्नो पीडा पोखेका छन् । तर, ओलीकै कारण जेनजी विद्रोह भएको कुरा उनले बिर्सिएका छन् ।
यद्यपि, एमालेकै कतिपय नेताले भने गगन–विश्वलाई बधाई र शुभकामना दिएका छन् । एमालेमा नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका नेताहरूले गगन–विश्वलाई शुभकामना दिएका हुन् । भलै उनीहरूले उठाएको नेतृत्व हस्तान्तरणको विषयलाई एमालेको ११औँ महाधिवेशनले अनुमोदन गरेन ।
एमाले उपमहासचिव योगेश भट्टराईले आफूहरूले प्रयास गरे पनि नसकेको भन्दै विशेष महाधिवेशन भव्यताको साथ गरेकोमा भनेका छन्–हामीले बोल्यौँ, केही ग¥यौँ, तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो सलाम मित्रहरू !’
एमाले नेतृउषाकिरण तिम्सेनाले भनेकी छिन्–आफ्नो काँधमा आएको युगीन राजनीतिक दायित्व सफलतापूर्वक पूरा गरेकोमा नेपाली कांग्रेसका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत परिवर्तनका पक्षधर सम्पूर्ण कांग्रेसजनलाई हार्दिक शुभकामना ।’












