जनकपुरधाम । जनकपुरमा एकै दिन दुई फरक स्थानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

आज बिहान रामानन्द चोकमा टिप्परको ठक्करबाट साइकलमा सवार २७ वर्षीया नितु साह गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
केही घण्टापछि मिल्स एरियामा अर्को टिप्परले मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। ना ८ ख ८२५७ नम्बरको टिप्परले ज ७ प २८३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनापछि स्थानीयहरूले टिप्परमा तोडफोड गर्ने प्रयास गरे, प्रहरीले हस्तक्षेप गरी सुरक्षित निकालेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले टिप्पर र चालक नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ। धनुषामा टिप्पर आतंक बढ्दै गएको छ। प्रहरी गस्ती भए पनि ओभरलोड र तीव्र गतिमा व्यस्त बजारमा सञ्चालन हुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।












