Logo
Logo

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने विश्वप्रकाशको घोषणा


441
Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् ।

उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली त्यागेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामाझ जाने बताए । “पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,” शर्माले भने, “महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहनाअनुसार हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।”

आयोगको निर्णयले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि देशभरका कांग्रेस कार्यकर्ताले दीपावली मनाउन थालेको उल्लेख गर्दै शर्माले यसलाई ‘नवीन कांग्रेस’ निर्माणको उत्सवका रूपमा लिन आग्रह गरे । काँकडभिट्टा, कञ्चनपुर र चितवनलगायत स्थानमा कार्यकर्ताले दीपावली मनाइरहेको खबर आएको भन्दै उनले भने, “विधिको जित भएको यो घडीमा उज्यालो मनोविज्ञानका साथ दीपावली मनाउनुस्, तर यसलाई कसैको हार–जीतका रूपमा होइन, पार्टीको बृहत्तर एकताको रूपमा बुझ्नुपर्छ ।”

शर्माले कांग्रेसको अबको प्रमुख एजेन्डा ‘स्थिर सरकार’ हुने बताए । विगत ३४ वर्षमा ३० वटा सरकार बनेर देश अस्थिरताको चक्रमा फसेको उल्लेख गर्दै उनले अब पाँच वर्षसम्म टिक्ने प्रधानमन्त्री र सुशासनका लागि कांग्रेसले ‘फुल टर्म प्राइम मिनिस्टर एक्ट’ को अवधारणा अघि सारेको जानकारी दिए । उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने एक्जिट पोलिसी कडाइका साथ लागू गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावपूर्व गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने शर्माको भनाइ थियो । उनले पार्टीलाई जिताउन आफू यसपटक उम्मेदवार नबन्ने र देशभरको चुनावी अभियानको कमाण्ड सम्हाल्ने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्