काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले भने, ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ ।’
त्यस्तै, आगामी फागुन २१ गतेको निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सबै पार्टी पङ्क्तिलाई सक्रियताका साथ लाग्न अपिल गर्ने निर्णय पनि गरेको छ ।
‘पार्टीका सबै पङ्क्ति, मतदाता, देश र विदेशमा रहेका सबै कांग्रेसजनहरू सबै साथीहरूलाई नयाँ ऊर्जाका साथ, पुनस् एकताका साथ फागुन २१ को निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सक्रियताका साथ लाग्नका लागि अपिल गर्ने निर्णय गरेको छ,’ चालिसेले भने ।
साथै, नेपाली कांग्रेसकै नेतृत्वमा अगाडि बढ्ने प्रक्रियामा साथ र सहयोगका लागि सम्पूर्ण देशवासीबाट साथ प्राप्त हुने विश्वास बैठकले राखेको उनले बताए ।











