Logo
Logo

मेरो कलम


भुपेन्द्र थापा ‘माधव’

252
Shares

मेरो कलमबाट
निस्कने हरेक डोबहरु
क्रान्ति, संघर्ष र परिवर्तनको अक्षर बनी
समुन्द्री छाल झै उर्लिरहने छन्।
मेरो कलमले मुटुमा अड्किएका
विभेद र असमानताका भावनाहरु
आवाज बनी ओकल्ने छन्।

आँखामा छछल्किएका
दुख र पीडाका आंसुहरु
संघर्ष बनी पोख्खिने छन्।
अभावले भौतारिएका बेरोजगार हातहरु
एकताको मुठ्ठी बनी उठ्ने छन्।
असमानताका भङ्गालाहरु
चेतना र जागरणको सिद्धान्तले पुरिने छन्।
मेरो कलमको
हरेक डोबहरु शासकको
अहंकार र निरंकुशता विरुद्ध लडिरहनेछ।

मेरो कलमले
गुमेको बिश्वास निरन्तर जगाउने छ।
मरेको आशा ब्युँताउने छ।
रित्तिएको भरोसा फर्काउने छ।
कुशासनको घुडा टेकाउने छ।
मेरो कलमले वर्तमान कोरा यथार्थको
पानामा भविष्यको सपना कोर्ने छ।

मेरो कलमका
लाल मसिहरु रक्तरञ्जित इतिहासका पानाहरुमा
सहिदको त्याग र योगदानका संग्रामी कथा बनी
युगौ–युग सम्म बाँचिरहने छन्।
मेरो कलमले
मुक्तिको गित र परिवर्तनको ऋत संगै
विचार, संघर्षको लय र सामन्ती शासकका
विरुद्ध भय,बनी लङ्कारी रहनेछन्।

मेरो कलम
आवाज विहिनहरुको आवाज हुनेछ ।
दुखी, गरिव र निमुखाहरुको सहारा हुनेछ।
भ्रष्टाचार बिरुद्धको मिसाइल र कुशासन विरुद्ध
उठ्ने बैचारिक हतियार हुनेछ।
अन्याय, अत्याचार र अस्थिरता सहदैन मेरो कलम पारदर्शिता,उत्तरदायित्व र न्यायको
यु्द्ध मोर्चाको बन्दुक हो मेरो कलम

मेरो कलम
तानाशाह सामु कदापि झुक्ने छैन।
अत्याचार सामु कहिल्यै लुक्ने छैन।
मेरो कलमले
अहंकार र घमण्ड पटक –पटक ढाल्यो ।
निरंकुश र सामन्ती पटक–पटक फ्याल्यो।
फेरि पनि थाक्ने छैन मेरो कलमको यात्रा
कहिल्यै नमेटिएका मसीका डोवहरु
संसार हल्लाउने अनन्त शब्दका परमाणुहरु
मेरो कलमको
सक्तिसाली नालबाट निस्किएका
प्रत्यक बारुदी शब्दहरु
जनबिरोधि शासकको चिहान
खन्ने बारुदी औजार हुनेछ।

प्रतिक्रिया दिनुहोस्