Logo
Logo

इन्जिनियरिङदेखि मिसेस नेपालको ताजसम्म


रक्षा पन्त, मिसेस नेपाल

252
Shares

पछिल्लो समय रक्षा पन्तको परिचय फेरिएको छ पेशाले कम्प्युटर इन्जियिर पन्त मिसेस नेपाल सन् २०२५ को शीर्ष उपाधि जितेसँगै मिसेस सुन्दरीको उपनामले चिनिन थालेकी छिन् । मिसेस नेपाल हुँदा नयाँ र मिठो अनुभव भएको बताउने पन्त भन्छिन्, ‘यो जितले मलाई थप उर्जा थपेको छ काममा जोस र हौसला प्रदान गरेको छ ।’ ३१ वर्षीया पन्तले २५ प्रतिस्पर्धीलाई उछिनेर शीर्ष ताज पहिरहन सफल भएकी हुन् । उनै मिसेस नेपाल रक्षा पन्तसँग रेजिना पाण्डेको जम्काभेट ।

मिसेस नेपालको शीर्ष उपाधि जित्दा कस्तो महसुस भयो ?

सफलता पाउदा खुसी हुनु मानवीय स्वभाव नै हो । मिसेस नेपालको शीर्ष उपाधि पाउदा नयाँ अनुभव भएको छ । सबैले बधाई दिनुभएको छ । अहिले म जितपछिको उत्सव मनाइरहेको छु ।

मिसेस नेपालको ताज लगाउछु भन्ने थियो ?

जुनै पनि प्रतियोगितामा प्रतिस्पर्धामा जादा जित्छु भन्ने लक्ष्य हुन्छ । लक्कीले शीर्ष उपाधि मैले नै जितेँ ।

तपाईं र अरू प्रतिस्पर्धीमा के फरक थियो ? जसले तपाईँलाई मिसेस नेपालको ताज पहि¥यायो ?

सबै प्रतियोगीहरू नम्बर वान हुनुहुन्थ्यो । पर्फर्मेन्समा म अलि बढी कन्फिडेन्ट थिएँ किजस्तो लाग्छ । त्यही कम्फिडेन्टले म सफल भएँ ।

कम्प्युटर इन्जिनियरिङ गरेको व्यक्ति यस क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?

म सानैदेखि नै फेसनलाई फलो गर्थेँ । फेसन डिजाइनप्रति हुरुक्कै हुन्थेँ । सिनेमा हेर्थे र नाच्थेँ पनि । तर पढाइले गर्दा यसतर्फ समय दिन सकिएन । मिस नेपालमा जाने धोको पनि थियो । परिस्थितिले दिएन । अहिले सबै साथीभाईको कुरा सुन्दा मिसेस नेपाल पनि हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यसपछि एक वर्षसम्म फलो गरेर प्रतिष्पर्धामा उत्रिएको हुँ ।

यो क्षेत्रमा जान पारिवारिक साथ कस्तो पाउनु भयो ?

सबैले नै सपोर्ट गर्नुभयो । श्रीमान, सासु, ससुरा सबैले ‘जाउ रहर पुरा गर’ भन्दै सपोर्ट गर्नुभयो । उहाँहरूको साथ र सपोर्टले नै आज शीर्ष ताज पहिरिन सफल भएको छु ।

क्राउन लगाउदा विशेष रुपमा कसलाई सम्झनुभयो ?

मिसेस नेपालको कार्यक्रम भएकै दिन मेरो श्रीमान अमेरिकाबाट आउने दिन थियो । उहाँ एयरपोर्टबाट सिधै मेरो क्राउन लगाउने कार्यक्रममा आउनुभयो । त्यो पल मेरो लागि अविस्मरणीय थियो । मैले श्रीमानलाई नै हेरिरहेको थिएँ ।

मिसेस नेपाल भएपछि के कस्ता अवसरहरू पाउनुभयो ?

अहिले बधाई पाइरहेको छु । बधाई थाप्न र अन्तवार्ता दिन मै व्यस्त छु ।

नयाँ परिचय र जिम्मेवारी थपिदा कस्तो महसुस भएको छ ?

धैरै नै जिम्मेवारी बढेको महसुस भएको छ । यो उपाधिसँगै आफनो काम र परिवारिक उत्तरदायित्व समालेर लाने योजना बनाएको छु । थप अरू कामहरू पनि गर्ने सोच बनाएको छु ।

कार्यक्रममा कस्ताकस्ता महिलाहरू सहभागी थिए ? उहाँहरूबाट के सिक्नुभयो ?

सबैको आ–आफनो समस्या छ, सबैको आफ्नो बाध्यता पनि छ । रहर र केही गरेर देखाउ भन्ने विश्वास धेरैमा देखेँ । विभिन्न कारणले रोकिएको रहरलाई पुरा गर्छु भनेर हिडेका महिलाहरू कोही बच्चा लिएर आउनुभयो । घरमा खाना पकाएर आउनुभयो । लोकसेवाको जाँच दिएर पनि आउनुभयो । यो सबै देख्दा जीवनमा अघि बढ्न थप प्रेरणा मिलेको छ ।

मिसेस बल्र्डमा पनि सहभागी हुने इच्छा छ कि ?

मिसेस नेपालको शीर्ष उपाधि जित्नेले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागी हुन पाउछन् । तर, विभिन्न कारणले गर्दा म जान नपाउने भएँ ।

अबका दिनमा सिनेमा र म्युजिक भिडियोतिर अफर आयो भने गर्नुहुन्छ ?

राम्रो कन्सेप भएको स्कृप्ट भयो भने नाइ भन्दिनँ ।

प्रतिक्रिया दिनुहोस्