काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक गर्नेलाई कारबाही गरिने बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानुनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए ।
आचारसंहिता उल्लङ्घन गर्ने विरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरेका छन् ।
उनले भने, ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रूपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेका कामहरू प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवालालगायत मतदाताहरूको र त्यसलाई टड्कारो रूपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदै छ । यो निर्वाचनमा कुनै शङ्का, उपशङ्का गर्नुपर्दैन ।’











