काठमाडौं । मंगलबार बिहान एउटा अनपेक्षित समाचारले देशको राजनीतिक वृत्तमा कम्पन पैदा गरिदियो- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अप्रत्याशित राजीनामा ।

सुरुमा त धेरैलाई यो समाचार पत्याउनै मुस्किल पर्यो। के साच्चै पुनले पदत्याग गरेकै हुन् त ? भन्ने संशय पैदा भयो । धेरैलाई पत्याउनै गाह्रो भयो । नले साँच्चै राजीनामा दिएका हुन् कि होइनन् ? दुई-चार मिडिया खोतल्नुपर्यो । राजीनामाको कारणबारे जिज्ञासा चुलियो ।
पुनको राजीनामाको सूचना स्वयम् उनले भन्दा पनि अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । खनालले लेखेका थिए- ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
यो खबर सार्वजनिक भएसँगै आमवृत्तमा अड्कलबाजी सुरु भयो । कतै उनी फेरि राष्ट्रिय आविष्कार केन्द्रकै व्यवस्थापनमा फर्किएका त होइनन् ? वा फेरि काँधमा झोला भिरेर आफ्नै जीवनी ‘महावीर पुन’ बेच्दै गाउँगाउँ त जाने होइनन् ?
मन्त्री हुनुअघि उनी पुस्तक बेच्दै गाउँ पुगेका थिए । मन्त्री बनेपछि उनले भनेका थिए- ‘किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए ।’
तर, यसपटक उनी गाउँ त पुगे, तर पुस्तक बोकेर होइन, चुनावी टिकट लिएर । राजीनामाले चकित पारेका पुनले अर्को झड्का दिए-आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता ।
राजनीतिमा खासै रुचि नभएको भन्दै आएका पुन मन्त्री बनेको बेला पनि खुसी देखिँदैनथे । उनी खुलेर भन्थे-‘यस्तो तनाव हुने रहेछ, किन मान्छे मन्त्री बन्न तानातान गर्छन् !’
सुशीला कार्की नेतृत्वको सरकार हुँदा समेत उनले पटक–पटक दोहोर्याएका थिए-‘चुनाव त लड्दै लड्दिनँ।’
नयाँ दलहरू मिल्नैपर्ने, आफू चुनाव नलड्ने अडान लिँदै आएका महावीर मंगलबार एकाएक गृहजिल्ला म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराइदिए ।
मनोनयनपछि उनले भने- ‘जिन्दगीमा चुनाव लड्ने इच्छा थिएन । अस्ति राति १२ बजेसम्म केही हुन्छ कि भनेर कुर्दै बसेँ । केही नहुने देखेपछि हिजो बिहान मात्रै निर्णय गरें ।’
जेनजी आन्दोलनपछि पनि नयाँ शक्ति एउटै मोर्चामा उभिन नसकेको देखेपछि अन्तिम घडीमा निर्णय लिएको उनको भनाइ थियो ।
अस्तिसम्म ‘उठ्दिनँ’ भनिरहेका पुन एकाएक उम्मेदवार कसरी बने ? मुख्य निर्वाचन अधिकृतको कार्यालयमै ठट्यौली शैलीमा उनले भने- ‘झोक चल्यो र आएँ।’ उनले थपे- ‘युवाहरूले मेरो कुरा त सुन्दैनन्, तर अब बाहिर बसेर होइन, भित्रै छिरेर उनीहरूको टाउकोमा घन्टी बजाइदिन्छु, ताकि उनीहरूको दिमागमा केही नयाँ कुरा घुसोस्।’
यो ‘झोक’ सामान्य आवेग मात्र होइन, निराशाबाट जन्मिएको आक्रोश थियो । उनले रास्वपा, बालेन र रवितर्फ संकेत गर्दै भने– ‘नयाँ भनिएकाहरू नै एकआपसमा खुट्टा तान्न थालेपछि आफैं मैदानमा उत्रिनुपर्यो । युवाहरूको पनि ढंग छैन, एकआपसमा खुट्टा तान्ने, तर प्रधानमन्त्री हुन्छु भन्ने । पुरानाको त कुरा नगरौं । नयाँमा पनि उही रोग देखेपछि झोक चल्यो ।’
महावीर पुनको जीवन र निर्णयहरू अक्सर एउटा शब्दमा केन्द्रित रहन्छन्- ‘झोक’ । उनको यो झोक कहिले आविष्कारका लागि हुन्छ, कहिले स्वाभिमानका लागि ।
जब उनी चितवनमा अध्यापन गराइरहेका थिए, उनलाई आधुनिक शिक्षाको ‘झोक’ चल्यो र अमेरिका हान्निए । अमेरिकाबाट फर्किँदा उनीसँग डिग्री मात्र थिएन, प्रविधिको एउटा सपना थियो। दुर्गम म्याग्दीका गाउँमा ‘वायरलेस इन्टरनेट’ पुर्याउने । उनको जिद्दीले उनलाई रोमन म्यागासेसे पुरस्कारसम्म पुर्यायो।
जब सरकारले प्रविधि र अनुसन्धानमा बजेट दिएन, उनलाई फेरि ‘झोक’ चल्यो र माइतीघरको सडकमा सुतेरै आन्दोलन गरे । त्यसले पनि काम नगरेपछि झोक चल्यो- किताब लेखे । किताब बेच्दै देश डुले ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकार आयो । मन्त्रीको प्रस्ताव आयो । अलमलिएका पुन फेरि झोककै भरमा शिक्षा मन्त्री बने । तर, कुर्सीमा बस्दा पनि उनी सुखी थिएनन्। अक्सर भन्थे, ‘मन्त्री पद त तनावको भारी रहेछ, मान्छेहरू किन यसका लागि मरिहत्ते गर्छन् ?’
हिजोसम्म ‘चुनाव लड्दिनँ’ भन्ने मानिस एकाएक चुनावी मैदानमा किन ओर्लिए ? म्याग्दीमा ठट्यौली पारामा उनले जवाफ दिए, “झोक चल्यो र आएँ !”
महावीरको चुनावी शैली पनि उनकै व्यक्तित्व जस्तै भिन्न छ । उनले चुनावका लागि कुनै कोष छुट्याएका छैनन् र एक पैसा पनि खर्च गर्ने छैनन् ।
कतिपयले महावीरको यो कदमलाई रास्वपाको समर्थन गर्ने रणनीतिका रूपमा लिएका छन् भने कतिपयले यसलाई युवाहरूको अहंकार तोड्ने प्रयास मानेका छन् । कतिले भने जित्ने उदेश्यका साथ मनोनयन दर्ता नगरेको भई मन्त्रालयमा दिग्दारी लागेर उन्मुक्तिको बाटो रोजेको अनुमान गरिरहका छन् ।
जीवनको उत्तरार्द्धमा पनि एउटा बालकको जस्तो कौतूहल र विद्रोहीको जस्तो आँट बोकेका महावीर पुनको यो अन्तिम घडीको निर्णयले म्याग्दी मात्र होइन, सिंगो देशको राजनीतिमा कस्तो परिणाम ल्याउँछ, त्यो भने हेर्न बाँकी नै छ।











