Logo
Logo

१६५ सिटका लागि ३ हजार ४ सय २८ को उम्मेदवारी


0
Shares

काठमाडौं । प्रतिनिधि सभा  सदस्य निर्वाचनका लागि कुल  ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएको छ । फागुन २१ गते निर्धारित चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सिटका लागि देशभरिबाट पुरुष  ३ हजार ३७  र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

चुनाव हुन लागेको सिट भन्दा करिब २१ गुणा बढी उम्मेदवारी परेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएपछि अब दाबी-विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।

सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ  ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्