Logo
Logo
सम्पादकीय

‘अक्षम’ नेतृत्वले निम्त्याएको विद्रोह


693
Shares

जेनजी विद्रोहको मर्म र भावनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले बेलैमा स्वीकार गर्न नसक्दा पार्टी विभाजित भएको छ । जेनजी पुस्ताको माग अनुसार नीति र नेतृत्व परिवर्तनका लागि गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा आवाज उठाउँदा संस्थापन पक्षले सुनुवाइ गरेन ।

विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित निवेदन दिँदासमेत देउवाले त्यसलाई रद्दीको टोकरीमा फालिदिए । जबकि, कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेर निवेदन दिएको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने वैधानिक बाध्यता थियो ।

तर, आफ्नो हातबाट नेतृत्व गुम्ने देखेपछि देउवापक्ष विशेष महाधिवेशन बोलाउन तयार भएन । उल्टै पुस अन्तिम साताका लागि बोलाइएको १५औँ महाधिवेशन पनि वैशाखमा सार्ने काम ग¥यो । जसलाई अस्वीकार गर्दै गगन–विश्वले पुस अन्तिममै विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरे ।

जेनजी पुस्ताको मुख्य माग भ्रष्टाचार अन्त्य, सुशासन कायम र नेतृत्व हस्तान्तरण–पुस्तान्तरण नै थियो । तर, राजनीतिक र व्यक्तिगत जीवनको उत्तराद्र्धमा रहेका देउवा दोस्रोपटक पार्टी विभाजनको मुख्य कारक बने । प्रधानमन्त्री बन्ने लालसाले देउवामाथि अर्को ‘कलंकको टीका’ पनि थपियो । आठ दशकको इतिहास बोकेको कांग्रेस मुख्यतः तेस्रोपटक विभाजन हुँदा दुईपटकको विभाजनमा देउवा नै प्रमुख कारक बन्न पुगेका छन् ।

सधैँ सत्ता, शक्ति र पैसामा रमाउने देउवाकै कारण कांग्रेस फेरि विभाजित भएको छ । निर्वाचनमा आफैँले टिकट बाँड्ने र आगामी निर्वाचनबाट कांग्रेसका तर्फबाट आफैँ प्रधानमन्त्रीको उम्मेदवार हुने लोभले गर्दा आजको स्थिति आएको हो ।

नेपाली काँग्रेसको करिब आठ दशकको इतिहासमा देउवा जति कलंकित, अयोग्य प्रधानमन्त्री र सभापति कोही पनि भएन । पाँचपटकसम्म प्रधानमन्त्री बनिसकेका देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा लाग्दा पार्टीलाई फुटबाट बचाउन सकेनन् । ओलीले ‘तपाई फेरि प्रधानमन्त्री बन्ने’ भन्दै देउवालाई उचालेपछि अस्वाभाविक रूपमा देउवा सक्रिय भए । प्रधानमन्त्री हुँदा देउवा सधैँ विवादित पर्दै आएका छन् ।

लोकतन्त्र दरबारमा बुझाउने, सुरासुन्दरी काण्डदेखि सांसद किनबेच र पजेरोकाण्डजस्ता विवादमा देउवा परेका थिए । यस्तो पात्रलाई देश र जनताले फेरि प्रधानमन्त्रीमा स्विकार्ने अवस्था छैन । भदौ २३ र २४ को जेनजी आन्दोलन मूलतः देउवा र ओलीकै कारण भएको हो ।

दुई तिहाइको सत्ता चलाउन नसकेका ओली र देउवाले राजनीतिबाट संन्यास लिनुपथ्र्यो । तर, उनीहरू अझै दलीय सिन्डिकेट कायम गरेर फेरि सत्तामा हालीमुहाली गर्न खोज्दै छन् । जबकि, जेनजी पुस्ता उनीहरूको मुखसमेत हेर्न चाहदैनन् । यस्तो अवस्थामा कांग्रेसमा भएको विद्रोहबाट नेपाली समाज र राजनीतिक आन्दोलनले नयाँ मोड लिएको छ । जेनजी आन्दोलनको मागलाई गगन–विश्वले संस्थागत रूपमा अपनत्व लिएका छन् । नयाँ कांग्रेसले जेनजी समूहकै ठूलो पङ्क्तिमा आशाको सञ्चार गरेको छ ।

एमालेमा पनि जेनजी आन्दोलनको मागलाई अपनत्व लिने प्रयास विद्या–ईश्वर समूहले गरेको थियो । तर, ओलीको षडयन्त्रका कारण उनीहरूको प्रयास सफल हुन सकेन । त्यसको परिणाम आगामी निर्वाचनमा एमालेले भोग्नुपर्नेछ । काँग्रेसको विद्रोहले एमालेमा पनि नेतृत्व परिवर्तनको आवाज बाक्लो बनेको थियो । त्यसैले काँग्रेसको विद्रोह र नयाँ नेतृत्व चयनले ओलीलाई पिरोलेको छ ।

किनकि, ओली र देउवा मिलेर देशमा अझै कुशासन चलाउने सोचेका थिए । आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धनको गृहकार्य हुँदै थियो । गगन–विश्वको विद्रोहले ओली र देउवाको सपना चकनाचुर भएको छ । काँग्रेसको विद्रोह एउटा पार्टीको विषय भए पनि नेपाली समाजले खोजेको नयाँ मोड बन्न पुगेको छ ।

आम नागरिकले नयाँ चेतको समाज खोजेका छन् । पुराना राजनीतिक दलमा पनि नयाँ नेता आउन भन्ने चाहेका छन् । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमार्फत त्यो मागको सम्बोधन हुन्छ । राजनीतिक दल र समाजमा व्याप्त उकुसमुकस बाहिर आएका छ । त्यसकारण कांग्रेस विभाजनले पैदा गरेका तरंगले राजनीतिलाई तरंगित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्