काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सहसंयोजक माधवकुमार नेपालसमेत जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित सम्बन्धित मुद्दाको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नपठाएपछि विशेष अदालतले पुनः आदेश गरेको थियो ।
बुधबार अख्तियारबाट फाइल प्राप्त भएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेका लागि तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिए । उनले भने, “यसअघि आदेश हुँदाहुँदै पनि अख्तियारबाट फाइल आएको थिएन । पुनः आदेशपछि अहिले फाइल प्राप्त भएको हो । सोही विषयको सुनुवाइका लागि माघ १४ गते पेसी तोकिएको छ ।”
रेग्मीका अनुसार अख्तियारले यसअघि मुद्दा नचल्ने निर्णय गर्दै फाइल तामेलीमा राखेको थियो । सो निर्णयमाथि नै विशेष अदालतमा सुनुवाइ हुन लागेको हो ।
गत जेठ २२ गते अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले यस प्रकरणमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अख्तियारका अनुसार नेपाल प्रधानमन्त्री रहेका बेला २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ पुग्ने गरी हस्तान्तरण तथा कारोबार स्वीकृतिको निर्णय गरिएको थियो । सोही निर्णयका आधारमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम८जग्गा हिनामिना भएको अख्तियारको ठहर छ ।











