Logo
Logo

रवि बारे महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ ।

The current image has no alternative text. The file name is: rabi-4.jpg

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

बिहीबारको पेसी सूचीको पहिलो नम्बरमै रहेको उक्त रिटको सुनुवाइ सुरु हुनासाथ इजलासका न्यायाधीश बालकृष्ण ढकालले आफूले यो मुद्दा हेर्न नमिल्ने जानकारी गराएका थिए ।

न्यायाधीश ढकालले यसअघि लामिछाने मुछिएको सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दामा सुनुवाइ गर्दै उनलाई धरौटीमा छाड्न नमिल्ने आदेश दिएका थिए ।

एउटै व्यक्ति र उस्तै प्रकृतिको मुद्दामा पूर्ववत आदेश गरिसकेकाले न्यायको मान्य सिद्धान्त अनुसार न्यायाधीश ढकालले उक्त रिट हेर्न अस्वीकार गरेपछि सुनुवाइ टरेको हो । न्यायाधीशले मुद्दा हेर्न अस्वीकार गरेसँगै अब अर्को इजलासमा सुनुवाइ हुनेछ। अब यो मुद्दाको सुनुवाइ आगामी माघ ११ गतेका लागि तय भएको छ ।

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मङ्गलवार विपक्षी महान्यायाधिवक्ताको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । सोही आदेश बमोजिम आज संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णय विरुद्ध रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्