एजेन्सी । बेलायत र जापानका अनुसन्धानकर्ताहरूले इन्टरनेट गतिमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

एस्टन विश्वविद्यालय र नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजीका वैज्ञानिकहरूले मानक अप्टिकल फाइबरमार्फत् सेकेन्डमा ४३० टेराबाइटको गति हासिल गरेका छन्, जुन सामान्य घरेलु ब्रोडब्यान्डको भन्दा करिब १६ लाख गुणा छिटो हो ।
यो उपलब्धिले सन् २०२४ मा आफैंले कायम गरेको ४०२ टेराबाइट प्रतिसेकेन्डको रेकर्डलाई तोडेको हो । नयाँ प्रविधि डेनमार्कमा सम्पन्न ५१ औं युरोपियन कन्फरेन्स अन इप्टिकल कम्युनिकेशनमा प्रस्तुत गरिएको थियो ।
उल्लेखनीय कुरा के हो भने, अनुसन्धानकर्ताहरूले पहिलेको भन्दा झन्डै २० प्रतिशत कम ब्यान्डविड्थ प्रयोग गर्दै यो अविश्वसनीय गति हासिल गरेका छन् । विशेषज्ञहरूले भनेका छन् कि यसले भविष्यमा विश्वव्यापी इन्टरनेट पूर्वाधार र डेटा ट्रान्सफरमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना छ ।
डिजिटल युगमा डेटा खपत तीव्र गतिमा बढिरहेको छ । क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता एआई र उच्च गुणस्तरीय भिडियो स्ट्रिमिङजस्ता क्षेत्रमा यो प्रविधि विशेष महत्व राख्ने विज्ञहरूले बताएका छन् । विश्वसञ्चार माध्यम टेकराडारले पनि यसलाई भविष्यको सूचना प्रविधिको माग पूरा गर्न महत्त्वपूर्ण उपलब्धि ठहराएको छ ।











