काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन् ।
यो आयोगको म्याद दोस्रो पटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थप गरेको थियो।
सरकारले भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न कार्की आयोग गठन गरेको थियो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले भने, ‘काम नसकिएकाले आयोगको समयसीमा बढाइएको हो।’
गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन गरेका थिए । सो क्रममा भएको क्षतिको यथार्थ विवरण संकलन र घटनाको पृष्ठभूमि अध्ययन गर्न आयोग गठन गरिएको थियो ।
भदौमा भएको आन्दोलनमा जेनजी पुस्ताका युवाहरू सहभागी थिए । उनीहरूले सुशासन र व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा केही स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। त्यस क्रममा मानवीय क्षति र सार्वजनिक सम्पत्तिमा तोडफोड भएको थियो।
आयोगलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको सिफारिस गर्ने कार्यादेश दिइएको छ।











