Logo
Logo

ओलीको क्षेत्रमा चुनावी प्रचारका लागि ५०१ सदस्यीय चुनावी समिति गठन


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा चुनाव परिचालनको जिम्मेवारी पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललाई सुम्पिएको छ । गौरादहमा आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले दाहालको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा केन्द्रीय सदस्य दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् । दाहाल २०४८ सालदेखि नै ओलीको चुनावी कमान्डर हुन् ।   

सहसंयोजक कार्की पूर्व सांसद तथा गौरादहका पूर्वगाविस अध्यक्ष हुन् भने अर्की सहसंयोजक काफ्ले कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष हुन् । निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन ९ वटा उपसमिति र ६९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

परिचालन समितिमा निर्वाचन क्षेत्रभित्र घर भएका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्यहरू र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई समेटिएको छ । कार्यालय सञ्चालन, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र कानुनी परामर्श लगायतका विभिन्न ९ वटा उपसमितिहरूले आफ्नो काम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्